अमेरिकी कम्पनी एप्पल बन्यो विश्वकै ठूलो कम्पनी

अमेरिकी कम्पनी एप्पल विश्वकै सबैभन्दा मूल्यवान कम्पनी बन्न सफल भएको छ ।

एप्पलको शेयर मूल्यमा शुक्रबार ७.१ प्रतिशतको कीर्तिमानी वृद्धि भयो । कम्पनीको त्रैमासिक रिपोर्टमा उत्साहजनक तथ्यांक सार्वजनिक भएसँगै एप्पलको शेयरमा उछाल आएको हो ।

कोरोना भाइरसको महामारीका कारण विश्वभर तेलको मागमा भारी गिरावट आएको छ र त्यसको असर साउदी अरबको सरकारी तेल कम्पनी अराममा पनि परेको छ ।

कोरोना भाइरस महामारीका कारण तेलको मागमा भएको गिरावट र एप्पलको शेयर मूल्यमा आएको बढोत्तरीका कारण अन्ततः एप्पल अरामलाई पछि पादैै विश्वकै नम्बर वान कम्पनी बनेको हो ।

एप्पलको शेयरको मूल्य ४ सय १२ अमेरिकी डलर पुगेको थियो । जस अनुसार एप्पल कम्पनीको बजार मूल्य १.७६५ ट्रिलियन डलर पुग्यो ।

जबकी गत वर्ष मात्र सार्वजनिक कम्पनी भएको साउदी कम्पनी अरामको बजार मूल्य शुक्रबार १.७५९ ट्रिलियन डलर थियो ।

स्मरण रहोस् गत जून महिनामा एप्पलको बजार मूल्य पहिलोपटक १.५ ट्रिलियन डलर पुगेको थियो । शेयर मूल्यमा आएको पछिल्लो उछालसँगै एप्पलको बजार मूल्य १.७८६ ट्रिलियन डलर भएसँगै अरामलाई पछि पारेको हो ।

एप्पल कम्पनीको हालै सार्वजनिक रिपोर्ट अनुसार सन् २०२० को तेश्रो त्रैमासिकमा कम्पनीको आम्दानीमा ११ प्रतिशतले वृद्धि भई ५९ अर्ब ७० करोड डलर पुगेको छ । त्यसमध्ये कम्पनीको मुनाफा मात्रै ११ अर्ब २५ करोड डलर रहेको छ ।

विश्वमा कोरोना भाइरस महामारी चलिरहेको बेला एप्पलका सबै सामानहरुको बिक्रीमा गिरावट विज्ञहरुको प्रक्षेपण विपरीत यस अवधिमा आइप्याड तथा म्याकको बिक्री ह्वात्तै बढेको छ । रोयटर्स


ताजा खबर