महासंघको साधारणसभा र निर्वाचनको मोडालिटी तयार गर्न समिति गठन

नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिका साधारण सभा तथा निर्वाचनको मोडालिटी तयार गर्न समिति गठन भएको छ। हिजो बसेको महासंघको कार्यकारिणी समितिको बैठकले महासंघको ५४औं वार्षिक साधारण सभाको मोडालिटी तयार गर्न ६ सदस्यीय समिति गठन गरेको हो।

उक्त समितिले आगामी १५ दिनभित्र महासंघलाई निर्वाचनको मोडालिटीबारे सुझाव पेश गर्ने बताइएको छ। समितिमा जिल्ला तथा नगर उद्योग वाणिज्य संघबाट डीबी बस्नेत, अरुणराज सुमार्गी, वस्तुगत संघको तर्फबाट विनोद ढकाल र सुनिलगोपाल श्रेष्ठ, तथा एशोसिएटबाट भरत आचार्य र रञ्जित आचार्य रहेका छन्।

समितिले साधारण सभा र निर्वाचनको मोडालिटी पेश गरेपछि पदाधिकारी समितिले कार्यकारिणी समितिमा पेश गर्ने बताइएको छ। सोही सुझावअनुसार सरकारको अनुमति लिएर साधारणसभा र निर्वाचन सम्पन्न गर्ने बताइएको छ। यसअघि, साउनको २६ र २७ मा महासंघको साधारणसभा तोकिएको थियो। तर, कोरोनाको संक्रमण बढ्दै गएपछि पदाधिकारी समितिले रोकेको थियो।


ताजा खबर