‘नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओली अङ्ग्रेजीमा धाराप्रवाह बोल्नुहुन्छ’ : प्रा.डा. बद्रीविशाल पोखरेल

आफूलाई उच्च डिग्रीधारी नेताहरू अङ्ग्रेजीमा लिखित मन्तव्य दिँदा ठसठसी कन्छन् तर त्यहीँ नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अङ्ग्रेजीमा धाराप्रवाह बोल्नुहुन्छ । ओली सहज, सरल, मिठासपूर्ण तथा लाक्षणिक नेपाली भाषामा आवश्यकताअनुसार मार्मिक अभिव्यक्ति दिनुहुन्छ, त्यहाँ पनि प्रायः उच्चस्तरका नेताहरू खस्रो, टर्रो तथा कामचलाउ भाषण गरेकामा मख्ख पर्छन् ।

ओलीको मौखिक अभिव्यक्ति नै स्तरीय, विषयगत गहन, फुटकर तथा पुस्तकाकार कृति बन्छन् तर अरूहरूले एकान्तमा ठसठसी कनेर तीनपटकसम्म कलम घोट्ता पनि कृति बन्दैन । ओली कार्यक्रमअनुसार विषगत सारपूर्ण अभिव्यक्ति प्रदान गर्नुहुन्छ । माक्र्सवाद र जबजको गहन तथा स्तरीय व्याख्या र विश्लेषण गर्नुहुन्छ । ओलीलाई उखाने भनेर उल्याउनेहरू लोकोक्ति, लोकवाणी, लोकलवजजस्ता भाषिक सम्पदा र सामथ्र्य नै जान्दैनन् । ओली लाक्षणिक र व्यञ्जनात्मक अभिव्यक्ति दिनुहुन्छ तर त्यहीँ अरूहरू व्यञ्जनालाई कुन खाले खाद्य परिकार हो भन्न बेर लगाउँदैनन् ।

ओली बहुविषय, विधा र क्षेत्रका जानकार लाग्नुहुन्छ । जननेता मदन भण्डारीले भनेझैँ ओलीले बोल्दामात्र आधा समस्या समाधान हुन्छ । ओलीमा इतिहास चेतना तीव्र देखिन्छ, अरूहरू ‘इतिहास’ भन्छन् र यसको सतही सपाट बखानमा मात्र रमाउँछन् । पार्टी सञ्चालन गर्नु भनेको बिहान उठेर हात, मुख र शौच गर्नु आदि नित्य कर्म गरेजस्तो मात्र होइन भन्ने ओली पार्टीलाई चौतर्फी रूपमा सशक्त र सबल बनाउन चाहनुहुन्छ । अरूहरू पञ्चमीको पाइलासरह घिस्रिन्छन् । ओली आफ्ना नामको सबै धनसम्पत्ति ट्रस्टका नाममा जम्मा गर्नुहुन्छ । अरूहरू आजीवन नितान्त निजी स्वार्थ साधना गर्न हत्ते हाल्छन्, आफैँमात्र सत्ता, स्वार्थ, पद, पैसा र प्रतिष्ठा हत्याउन अपहत्ते गर्छन् । ओलीले छोरा, बुहारी, ज्वाईं, छोरीलगायत आफन्तलाई राजकीय र राजनीतिक सरसुविधा दिलाउन हत्ते गर्नु छैन । प्रधानमन्त्री हुनेबित्तिकै अरूहरू उत्तर–दक्षिण छिमेकीसित स्वस्ती सलाम गर्न लाम लाग्थे तर प्रधानमन्त्री ओलीलाई भेट्न मित्रराष्ट्रका प्रधानमन्त्री नेपालमै लाम लाग्छन् ।

मित्रराष्ट्र भारतको भ्रमणमा जाँदा कुनै प्रधानमन्त्रीले आफ्ना छोराछोरीलाई उच्च शिक्षा छात्रवृत्तिको कुरा झिक्थे तर ओलीले नाकाबन्दी नहटाई भारतमा मैत्री भ्रमण नगर्ने भन्नुभयो । पार्टीको नवौँ महाधिवेशनका बेला अध्यक्षका उम्मेदवार बन्नुभएका ओलीलाई आजै, अहिल्यै इहलोकबाट बिदा भए हुन्थ्यो भनेर धूपदीप र नैवेद्य चढाउनेहरू ओलीको फाउ जिन्दगीको यति ठूलो र महत्वपूर्ण भाउ देखेर रातभरि नसुत्दा हुन् ।

प्रदीप नेपाल, ईश्वर पोखरेल र मुकुन्द न्यौपानेलगायत नेता ओलीको पक्षमा नलागेको भए यो पार्टी र देशको के अवस्था हुन्थ्यो होलाजस्तो लाग्छ । प्रतिभा आफैँ उठ्ने हो तर त्यसको उचित संरक्षण र सम्बद्र्धन गर्दामात्र त्यसले अझ मौलाउने अवसर पाउँछ । आवश्यक पर्दा ओली सरकारकै आलोचक यो लेखक गुणीजनको गुणको आदर, कदर र सम्मान गर्दा भक्त भन्ने दरिद्र मनप्रति दुःखमात्र प्रकट गर्छ । कृतघ्नहरूलाई निर्मम रूपमा लेख्नैपर्ने अवस्था आइलागेको हुँदा लेख्ने गरिएको हो । सूर्य उदाएपछि अँध्यारो नासिन्छ नै भनेर पनि बारबार लेख्ने गरिएको हो । ओली सरकार र नेतृत्वका कारण छाती पिटीपिटी रुन मन लाग्यो, कम्युनिस्ट हुँ भन्न आफैँलाई लाज लाग्यो, चुनाव नजितिन्जेल ओली बाउ भन्ने, जितेपछि ओली बाउ वन जाऊ भन्ने नेताहरू, मन्त्री बनाउँदा पनि ओलीलाई शत्रुलाई झैँ खेदोपाइलो गर्नेहरू सामान्य विवेक पनि नभएका हुन् । पार्टीमा प्राप्त कार्यकारी अध्यक्षको जिम्मेवारी पूरा गर्नतिर नलागी ओलीले काम गर्न नदिएको अमूर्त कुरा गरेर दुनियाँ किन हँसाउनु ? यसरी काम गर्न खोज्दा नदिएको भए दुनियाँले थाहा पाउँथ्यो र जाती नै हुने थियो त ।

ओली रिसलाई सकारात्मक रूपमा ग्रहण गर्नुहुन्छ जस्तो लाग्छ । राम्रा र दूरगामी काम गर्दा पनि निर्मम आलोचना हँुदा हामीजस्तालाई अझ राम्रा काम गर्ने झ्वाँक चल्छ । प्रधानमन्त्री ओलीले पनि यही आसयका साथ अझ राजनीतिक तथा राजकीय महŒवपूर्ण काम गरेको यस लेखकलाई अनुभूति भएको छ । ओलीले वरिष्ठ नेता माधवकुमार नेपालको जन्मोत्सवमा सार्वजनिक कार्यक्रममा केक खुवाएर देखाएकोजस्तो औपचारिक वा अनौपचारिक मैत्री सम्बन्ध अरूले कायम गरेको देखिएको छैन । अनि कसरी ओलीले सहयोद्धा नेताहरूलाई उचित आदर र कदर नगरेको भन्ने ?

तर हरेक काम, कार्यक्रम, उपस्थिति र प्रस्तुतिमा ओलीसित आफूलाई दाँज्दा आफैँले हीनताबोध गरेर चित्त दुखाउनुहुँदैन । कार्लमाक्र्स र माक्र्सवादका पक्षमा जसरी महान् एङ्गेल्स डटेर उभिनुभएकाले यसको रक्षा, विकास र विस्तार हुन सक्यो ठीक त्यस्तै जबजको रक्षा, विकास र समृद्धिका लागि ओलीले अगुवाइ गर्नुभएको देखिन्छ ।

जननेता मदन भण्डारी जीवित हुँदा पनि केही नेता त्रसित थिए, ती भण्डारी जीवित नहुँदा पनि त्रसित छन् । सर्पको दाँतमा र भित्तीको पुच्छरमा विष हुन्छ तर दुष्ट मानिसको शरीरभरि विष हुन्छ भनेझैँ अनेकखालका दुराग्रहका कारण ओली सरकार निर्माण भएको छ महिना पनि नपुग्दै पार्टीका वरिष्ठ र कनिष्ठ नेताहरू शत्रुवत् विरुद्ध लागेको प्रमाण सुरक्षित छ । ओलीविरुद्ध अहिले स्थायी समितिमा एकधुर एक मुख भएर लागेका नेताहरूको असलियत थाहा छ । ओलीलाई राजीनामा माग्ने समयको रोजाइबाट सबै कुरा छर्लङ्ग हुन्छ । खुसी, खोकी, प्रेम र राजनीतिक अपराध धेरै दिन लुक्तैन । भारतीय मिडियाले ओलीको राजीनामा माग्ने खबर प्रसारण गरे । प्रधानमन्त्री ओलीविरुद्ध भारतीय मिडियाले गरेको घिनलाग्दो प्रचारको प्रतिवाद कुनै नेताले गरे ? मोदीले बुद्ध भारतमा जन्मेको भन्दा चुपचाप लाग्ने नेता राम र अयोध्या विषयको प्राज्ञिक छलफल गर्दा तीनबित्ता उफ्रिने ?

प्रसिद्ध संस्कृतिविद् डा. जगमान गुरुङले यस विषयमा भारतीय विद्वान्हरूद्वारा लिखित सामग्रीलाई प्रमाणका रूपमा प्रस्तुत गर्दै हालै यसको रहस्य खोतल्ने प्रयास गर्नुभएको छ । ओलीविरोधी गुप्त अभियानमा भारतीय अत्यन्त उच्चस्तरका व्यक्तित्वहरू काठमाडौँमा आएको थाहा भएकै हो । यसमा नेकपाका नेताहरू हातमा टोपी लिएर दौडिएको पनि थाहा भएकै हो । यस्ता कुरामा के–कस्ता चलखेल हुन्छन् र हुन सक्छन् त्यो पनि थाहा छ । नेपाली काँग्रेसका नेता स्व. खुमबहादुर खड्काले एमाले फुटाउन अमूक एमाले नेतालाई यति लाख दिएको खुला जानकारी गराएका थिए । यसको खण्डन कसैले पनि गरेको थिएन ।

ओली सरकारलाई हिलाको किलो बनाउँदै ढाल्न उहिल्यैदेखि लागेकाहरूको अगुवाइमा स्थायी समितिमा विचार प्रकट भएका हुन् । स्वयम् प्रचण्डले इटहरीमा आयोजित एक पार्टी कार्यक्रममा ओली सरकारले पहिलो वर्षको बजेटमार्फत ज्येष्ठ नागरिकलाई भत्ता नबढाएकामा चर्को विरोध गर्दा छक्क परिएको थियो । अघिल्लो सरकारका कारण देशको ढुकुटी लगभग रित्तो भएको हुँदा ओली सरकारले श्वेतपत्र जारी गर्नुपरेको वास्तविकतालाई प्रचण्डले छर्लङ्ग पारेर यसपालि भत्ता बढाउन सकिएन अब आगामी दिनमा भत्ता बढ्ने कुरा गर्नुपथ्र्यो । यति सामान्य कुरा पनि नगर्दा ओली सरकारलाई ससाना छिद्र खोजेर शत्रुवत् आलोचना गरेपछि आमजनमानस र पार्टी पङ्तिसमक्ष सरकारविरोधी भावना जानीजानी विकसित गर्न खोजिएको स्पष्ट हुँदैन र ? ओलीलाई असफल पारेर आफू पदासीन हुनेभन्दा पार्टी एकीकरणमात्र होइन, संविधान नै धरापमा पर्छ र नेपालको राजनीतिक कोर्स नै पनि बदलिन सक्छ भन्नेसम्म पनि नबुझ्दा समस्या जटिल बन्न गएको हो । केही नेताहरू यसरी पार्टीमा चिरा, भ्वाङ पार्न उद्यत देखिए कि तिनलाई पार्टी, सिद्धान्त र देश र जनताको भाग्य र भविष्यप्रति कुनै चिन्ता भएजस्तो लाग्दैन । चिरा परेपछि घर धर्मराउनु र ढल्नु स्वाभाविक हुन्छ । हरेक पार्टीमा, अझ कम्युनिस्ट पार्टीमा सबै सद्दे, सही र आस्थावान् नेता कार्यकर्ता हुन्छन् भन्ने छैन र हुँदैनन् पनि ।

अवसरवाद, अतिवाद तथा उग्रवाद आखिरमा दक्षिणपन्थी अवसरवादमा परिणत हुन्छ भन्ने डा. बाबुराम भट्टराईले नै देखाइसक्नुभयो । सैद्धान्तिक वैचारिक दूरदर्शी नेता कार्यकर्ता मात्र आजीवन आन्दोलनमा समर्पित भएर लाग्छ । इटहरी आएका बेला एक प्रसङ्गमा डा. मोदनाथ प्रश्रितलाई यस लेखकले तत्कालीन एमाले पार्टीमा सबैभन्दा प्रतिभाशाली तथा सक्षम नेता को हो ? आग्रहविना भन्नुहोस् भनेर सोधेको थियो । आखिरमा प्रश्रितले केपी शर्मा ओली नै मदन भण्डारीभन्दा कम क्षमताको नेता होइन, उहाँ नै अहिले जीवित नेतामध्ये सबैभन्दा सक्षम नेता हो तर उहाँ अलि अल्छे हुनुुहुन्छ भन्नुभएको थियो । त्यसैले समीको वृक्षलाई पोथ्रासित तुलना गर्न मिल्दैन । जूनकीरीलाई चन्द्रमासित दाँज्न सुहाउँदैन । त्यस्तै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीसित उहाँका समकालीन नेताको तुलना हुन सक्तैन ।
(लेखक स्रष्टा तथा बुद्धिजीवी हुनुहुन्छ ।)

प्रधानमन्त्री ओलीले राष्ट्रसंघको महासभामा गर्नुभएको सम्बोधन हेर्नुस् …


ताजा खबर