काँग्रेसले सागका स्वर्ण विजेतालाई सम्मान गर्‍यो

नेपाली काँग्रेसले १३ औं दक्षिण एशियाली खेलकुद सागमा स्वर्ण पदक जित्ने नेपाली खेलाडीहरुलाई शुक्रबार नगदसहित सम्मान गरेको छ । काँग्रेसको खेलकुद विभागले पार्टी कार्यालय सानेपामा आयोजना गरेको विशेष कार्यक्रममा सभापति शेरबहादुर देउवाले नगदसहित सम्मान गरेका हुन् ।

१३ औं सागमा नेपालले ५१ स्वर्ण पदक जितेको थियो । यसैगरी ६० रजत र ९५ कास्य सहित कुल पदक २०६ जितेको थियो । काँग्रेसले पहिलो चरणमा स्वर्ण पदक जित्ने खेलाडीलाई मात्रै सम्मान गरेको हो ।

काँग्रेस सभापति देउवाले नेपाली काँग्रेस सधैं खेलाडीको पक्षमा रहेको बताउँदै केही अप्ठेराहरु भए खेलाडीको पक्षमा लाग्न सरकारलाई दबाव दिने बताए ।
खेलकुद विभाग प्रमुख मोहन बस्नेतले आगामी दिनमा रजत र कास्यका साथै प्रशिक्षकहरुलाई पनि सम्मान गर्ने योजना रहेको बताए । उनले अहिलेको राखेपको नेतृत्वबाट खेलकुदले ठूलो आशा राखेको बताउँदै खेल र खेलाडीको हक हितका लागि काँग्रेसले सधै वर्तमान नेतृत्वलाई सघाउने प्रतिवद्धता पनि व्यक्त गरे ।

कार्यक्रममा राखेपका सदस्य सचिव रमेशकुमार सिलवालले देशको पुरानो पार्टी नेपाली काँग्रेसले खेलाडीको सम्मान गरेर राम्रो सुरुआत गरेको बताएका थिए ।

सम्मानित खेलाडीका तर्फबाट स्वर्ण पदक विजेता मण्डेकाजी श्रेष्ठले सम्मानले आफू उत्साहित भएको बताए । उनले खेलाडीहरुलाई राज्यले दिने मान पदवीका लागि सबै स्वर्ण विजेता खेलाडीलाई सिफारिस गर्नुपर्ने माग पनि गरे ।

नेपालले १३ औं सागमा स्वर्ण पदक ५१ जितेपनि व्यक्तिगत र समूहगत गरि ८० जनाले स्वर्ण पदक हात पारेका थिए । उनीहरुलाई काँग्रेसले जनही १० हजारका दरले सम्मान गरेको हो । तर, एक भन्दा बढी स्वर्ण जित्नेको पुरस्कार रकम भने बढी रहेको छ ।

सागमा ४ वटा स्वर्ण जित्ने पौडीकी गौरिका सिंहले २५ हजार प्राप्त गर्दा दोहोरो स्वर्णले १५ हजार प्राप्त गरे । काँग्रेसले एक मात्र स्वर्ण जित्नेलाई १० हजार, दोहोरो स्वर्ण जित्नेलाई १५ हजार, तेहेरो जित्नेलाई २० हजार र चार वटा स्वर्ण जित्नेलाई २५ हजार नगद पुरस्कार दिने मापदण्ड बनाएको थियो ।

 


ताजा खबर