राजेश हमालले टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’ सञ्चालन गर्ने

राजेश हमालले दलित तथा सीमान्तकृत समुदायले भोग्नु परिरहेको जातीय विभेदको समस्या र त्यसको समाधानको विषयसँग सम्बन्धित विषयमा टेलिभिजन कार्यक्रम सञ्चालन गर्ने भएका छन्।

सामाजिक न्याय तथा दलित अधिकारको क्षेत्रमा काम गर्दै आएको संस्था समता फाउन्डेसनले निर्माण गर्ने कार्यक्रमको सञ्चालन अभिनेता हमालले गर्ने भएका हुन्।

टेलिभिजन कार्यक्रमबारे छलफल गर्न आज राजधानीमा आयोजित कार्यक्रममा समताका कार्यकारी निर्देशक प्रदिप परियारले दलित तथा सीमान्तकृत समुदायले समाजमा भोग्दै आएको सामाजिक उत्पीडन र विभेद विरूद्धको नीतिगत बहसका लागि कार्यक्रम निर्माण गरेको बताए । “कलाकार भनेको सबैको साझा हुन्, त्यसैले सबैले चिनेको कलाकारबाट यो कार्यक्रम सञ्चालन गर्दा नयाँदेखि पाको पुस्तामा पनि जातीय विभेद विरुद्ध चेतना पुग्नेछ,” उनले भने।

अभिनेता हमालले आफूले यो कार्यक्रम देखावटी रुपमा मात्र नभई यो मुद्दाप्रति मनैदेखि आत्मसात गरेर सञ्चालन गर्न लागेको बताए। “मैले अभिनयकै क्रममा थुप्रै दलित समुदाय र दलितको घरसम्म पुगेको छु, दलित समुदायप्रति भइरहेको सामाजिक विभेद र अन्याय नजिकबाट देखेकाले आफ्नो गर्ने सामाजिक दायित्वकै रुपमा यो कार्यक्रमलाई लिएको छु,” उनले भने।

जातको प्रश्न कार्यक्रम निर्देशक शान्ता नेपालीले स्थानीय तहमा पुगेर दलित समुदायले भोगेका जातीय विभेद तथा छुवाछूतका घटनाहरू पनि कार्यक्रममा समावेश गरिने र त्यसको आधारमा जिम्मेवार निकायसँग कार्यक्रम सञ्चालक राजेश हमालले संवाद गर्ने बताइन्।

शनिबार (१७ साउन) देखि ‘जातको प्रश्न’ टेलिभिजन संवाद कार्यक्रम कान्तिपुर टेलिभिजनमा साँझ साढे ६ बजे प्रसारण हुनेछ।


ताजा खबर