काष्ठमण्डप सातौँ शताब्दीको प्रविधिबाटै पुनःनिर्माण हुँदै

विश्वसम्पदा सूचिमा सूचिकृत हनुमानढोका परिसरमा रहेको काष्ठमण्डपको शनिबार धलिं (मुख्य दलिन) पूजा सम्पन्न भएको छ। सातौँ शताब्दीको काष्ठमण्डपलाई पुरानै प्रविधिबाट पुनःनिर्माण गरिँदैछ।

काष्ठमण्डप पुनःनिर्माण समिति अध्यक्ष राजेश शाक्यले महोत्तरी, चितवन, पर्सा, सिन्धुपाल्चोक लगायत ठाउँबाट अग्राखको काठ ल्याएर सातौँ शताब्दीमा प्रयोग भएको प्रविधिबाटै पुनःनिर्माण गरिरहेको जानकारी दिए। “सातौँ शताब्दीमा जुन प्रविधि प्रयोग भएको थियो, त्यस्तै प्रविधिबाट हामीले निर्माण गरेका छौँ”, उनले भने, “जुन इँटा, माटो प्रयोग भएको थियो। हामीले त्यही प्रयोग गरेका छौँ।”

धलिं पूजा श्रीखण्ड तरुमुल महाविहार (सिखंमू बहाः) या गुर्जु यज्ञमानपति बज्राचार्यको नेतृत्वमा वज्रयानी परम्पराअनुसार सम्पन्न भएको हो। धलिंलाई काष्ठमण्डप संरचनाको एक महत्वपूर्ण अंग मानिन्छ। यो काष्ठमण्डपको धुरीमा रहेको हुन्छ।

पूजामा मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी प्रदेशसभाका सांसद एवं पुनःनिर्माण समिति अध्यक्ष शाक्य लगायत सहभागी थिए। रहेको थियो। सो अवसरमा महानगरपालिकाका मेयर शाक्यले अबको ध्यान सम्पदा पुनःनिर्माणमा केन्द्रित हुने र निर्माण/पुनःनिर्माणको काम तीव्र गतिमा अघि बढाउने बताए।

आर्थिक वर्ष २०७७/७८ को बजेटमा ९० बढी शीर्षकमा सम्पदाको संरक्षण र पुनःनिर्माणका लागि काठमाडौँ महानगरपालिकाले बजेट विनियोजन गरेको छ। सोही अवसरमा काष्ठमण्डप पुनःनिर्माण समिति अध्यक्ष शाक्यले पुनःनिर्माणको करिब ७० प्रतिशत काम सम्पन्न भएको जानकारी दिए।

वैशाख २०७५ बाट पुनःनिर्माण शुरु भएको हो। अध्यक्ष शाक्यले काम समयसीमाभित्रै सम्पन्न हुने बताए।

काठमाडौँ महानगरपालिकाले पुनःनिर्माणका लागि महानगरपालिकाले पहिलो चरणमा रु.५० लाख, दोस्रो र तेस्रो चरणमा रु.५/५ करोड दिएको छ। २०७२ सालको भूकम्पले पूर्णरूपमा क्षति पुगेको ऐतिहासिक सम्पदा तीन वर्षभित्र पुनःनिर्माण सक्ने लक्ष्य राखिएको छ। पुनःनिर्माणका लागि रु.१९ करोड खर्च लाग्ने अनुमान गरिएको छ। निर्मणका लागि जम्मा १७ हजार ५८ क्युफिट काठ आवश्यक पर्छ।

काष्ठमण्डप सातौँ शताब्दीमा बनेको हो। बिसेत नामका मानिसले कल्पतरुलाई चिनेर नियन्त्रणमा लिई एउटा रूख उपलब्ध गराउने वाचा गराएर छाडेपछि कल्पतरुले सालको काठ दिएका थिए। सातौँ शताब्दीमा राजा लक्ष्मीनरसिंह मल्लले त्यसैबाट मूर्तिविहीन मरुसतः बनाएको र पछि यसैलाई काष्ठमण्डप भन्न थालिएको हो । रासस


ताजा खबर