भुवनले साम्राज्ञीविरुद्ध मुद्दा हाले : १० करोड रुपैयाँ क्षतिपूर्ति माग

अभिनेता भुवन केसीले १० करोड रुपैयाँ क्षतिपूर्तिको माग दाबी गर्दै अभिनेत्री साम्राज्ञी शाहविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका छन्।

केसीले रिटमा सामाजिक सञ्जाल तथा यूट्यूब मार्फत आफ्नो बेइज्जत गरेको उल्लेख गरेका छन्।  क्षतिपूर्ति माग दाबीसहित केसीले मुद्दा दायर गरेको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले बताए।

साम्राज्ञीले चलचित्रको नाम उल्लेख नगरी सुटिङ सेटमा अपमानित हुनुपरेको र समयमा पारिश्रामिक पनि नपाएको भिडियो इन्स्टाग्राममा सेयर गरेपछि भुवनले फेसबुकमा स्टेटस राख्दै प्रतिकृया दिएका थिए। त्यसपछि शुरु भएको आरोप प्रत्यारोप उत्कर्षमा पुगेको छ।

यही विषयलाई लिएर भुवनले चलचित्र कलाकार संघमा पनि साम्राज्ञीले लगाएको आरोपबारे निष्पक्ष छानबिनको माग गर्दै उजुरी दिएका थिए।

संघका अध्यक्ष रवीन्द्र खड्काले दुवै जनालाई छुट्टाछुट्टै राखेर छलफल गर्दा साम्राज्ञीले कसैको बेइज्जत गर्न नखोजेको जिकिर गरेको बताए।

“मैले कसैको नाम नलिएको र उहाँ आफैंले म हो भनेको हो । मैले कसैको बेइज्जत गर्न खोजेको छैन” साम्राज्ञीलाई उद्धृत गर्दै खड्काले भने।

साम्राज्ञीले अब यस विषयमा सामाजिक सञ्जालमा नलेख्ने प्रतिबद्धता समेत जनाएको खड्काले जानकारी दिए।  उनका अनुसार भुवन केसीले भने चलचित्र क्षेत्रमा आफ्नो लामो योगदानलाई कदर नगरेको, मानहानि गरेकोले माफी माग्नुपर्ने बताएका थिए।

खड्काले भने “हामी मिलेर जानुपर्छ भन्ने कुरामा जोड गरिरहेका थियौं, आज मुद्दा दर्ता गरेको भन्ने सुन्नमा आएको छ। मुद्दा मामिला गर्ने पक्षमा हामी भने छैनौं।”


ताजा खबर