‘बेमानी घाम’ : प्रेमा शाह

सुन फुल्ने देशमा
एक टुक्रा घाम
छुनै डर लाग्ने
कोपिला घाम
वरिपरि फैलिएको
पातलो घाम
पछि–पछि लाग्दालाग्दै
कता हराउँछ घाम
कस्तुरीको बास्नाझैं
छोप्लाजस्तो घाम
सुँघ्न खोज्छु तर भाग्छ
मृगजस्तो घाम
चिसोले थल्याउदा
शरीर र मन
तान्न खोज्छु परदेखि
कौसीको घाम
तताएको कोठाभित्र
चिसो–चिसो ज्यान
घरअगाडि घरपछाडि
आफैं कठ्यांग्रिन्छ घाम
बन्द झ्यालबाहिर
एक टुक्रा घाम
कस्तो पापी बाह्रमास
हिउ बोक्ने घाम
नरित्तिने फ्रिज र टेबल
नचिसिने चुल्हो
गोजीभरि कामदाम
दरिद्र यो घाम
सम्झन्छु रित्तो थालभरि
हाँसेको घाम
हरे
यहाँ एउटा रोटीभन्दा
कति महॅगो घाम
मुठी भर्न पर्खेको
एक टुक्रा घाम
जिन्दगीसँगै फुस्किरहन्छ
बेमानी घाम ।
– प्रेमा शाह / चैत्र ५, २०७३

ताजा खबर