त्रिभुवन विश्वविद्यालयले रोकिएका परीक्षा दशैँ अगाडि नै सञ्चालन गर्ने

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दी खुलेसँगै रोकिएका परीक्षा सञ्चालन गर्ने तयारी थालेको छ ।

बन्दाबन्दी खुलेसँगै सेमेष्टर र वार्षिक प्रणालीका परीक्षा सञ्चालन गर्ने तयारी गरिएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताउनुभयो । उहाँले दशैँ अगाडि रोकिएका सेमेष्टर र वार्षिक परीक्षा गर्ने तयारी गरिएको जानकारी दिनुभयो ।

त्रिविले चाँडै नै परीक्षाका बारेमा सूचना प्रकाशित गर्ने तयारी गरेको छ । यसपटक विद्यार्थीलाई पायकपर्ने नजिकका क्याम्पसमा परीक्षा केन्द्र राखिने छ । त्रिविले गत चैत ७ गतेदेखि कोभिड–१९ को कारणले सेमेष्टर तथा वार्षिक सबै परीक्षा स्थगन गरेको थियो ।

वार्षिक क्यालेन्डर मिलाउने गरी परीक्षा र परीक्षाफल प्रकाशन गरिने तयारी गरिएको पनि जोशीले बताउनुभयो । रासस


ताजा खबर