नेपालमा क्षयरोगबाट दैनिक १८ जनाको मृत्यु : प्रति लाख १ सय ३२ जना क्षयरोगीहरु रहेको तथ्यांक

श्वास प्रश्वासबाट सर्ने क्षयरोगबाट दैनिक १८ जनाको मृत्यु भइरहेको तथ्यांक छ । सरकारले क्षयरोगका प्रति विरामी करिब १२ लाख रुपैयाँ खर्च गरेर निशुल्क उपचार पनि गर्दै आएको छ । तर अझै पनि सामाजिक दुर्व्यवहार र अवहेलनाको डरले क्षयरोग लागेका विरामीहरुले रोग लुकाएर बस्ने गरेको पाइएको हो ।

सामाजिक दुर्व्यवहार र अवहेलनाका कारण गाँउघरमा क्षयरोगलाई लुकाउने प्रवृत्ति बढ्दै जादा प्रदेश नं. १ मा क्षयरोगको जोखिम निकै बढेको छ ।

नेपालमा प्रति लाख १ सय ३२ जना क्षयरोगीहरु रहेको तथ्यांक भएपनि मुलुकभर ११२ जना र प्रदेश नं. १ मा ८५ जना क्षयरोगीहरुको मात्र पहिचान गरेर उपचार गर्ने गरिएको छ । सरकारले निशुल्क रुपमा उपचार गर्ने मात्र होइन प्रति विरामी करिब १२ लाख रुपैया उपचारमा खर्च गर्ने गरेको छ । तर पर्याप्त चेतना र गरिबीका कारण क्षयरोगीहरु बढ्दै गएकाले विरामी पत्ता लगाउने कार्यलाई अभियानका रुपमा संचालन गर्नुपर्ने स्वास्थ्य निर्देशनालय धनकुटाका क्षय कुष्ठ अधिकृत ध्रुव उराउले जानकारी दिनुभयो ।

नेपालमा प्रति दिन १८ जनाको क्षयरोगका कारण मृत्यु हुन्छ । सरकारले सन् २०३० सम्म मा टिबी मुक्त नेपाल बनाउने लक्ष्य राखेको छ । यसका लागि बहुऔषधी प्रतिरोध क्षयरोग व्यवस्थापन संचालन गर्दै आएको छ । ९ देखि ३२ महिना सम्म नियमित औषधि सेवन गरे क्षयरोग निको हुन्छ । क्षयरोगका विरामीहरुलाई डिआर होस्टलमा राखेर उपचार गर्ने मात्र होइन घर मै बसेर नियमित औषधी सेवन गर्नेलाई पोषण भत्ता वापत मासिक ३ हजार रुपैयाँ प्रदान गर्ने गरिएको छ ।

प्रदेश नं. १ मा करिब ५ हजार २ सय विरामीहरु उपचार गराइरहेका छन् । तर अहिले पनि धेरै क्षयरोगीहरु सामाजिक अवहेलना हुन सक्ने डरले रोग लुकाएर बसिरहेका छन् ।


ताजा खबर