“कसैले नक्कल गर्छ भने तपाईंको उत्पादन सफल छ” : सन्दीप बजोरिया

काेकाकोला नेपाली बजारमा ४ दशकदेखि उपलब्ध छ । नेपालमै दुई उद्योग स्थापना गरेर उसले आफ्ना उत्पादन उपभोक्तामाझ पुर्‍याइरहेको छ । ती उद्योग नेपालको सेयर बजारमा सूचीकृत पनि छन् । त्यसो हुँदा यो अमेरिकी नभएर नेपाली कम्पनी नै भएको कोकाकोलाको साउथ-वेस्ट एसिया हेर्ने भाइस प्रेसिडेन्ट सन्दीप बजोरिया बताउँछन् । कोकाकोलाले नेपालमा एफएमसिजी वस्तुको उत्पादन र व्यापार मात्रै गरिरहेको छैन, वातावरण, कृषि तथा जल संरक्षणका क्षेत्रमा पनि काम गरिरहेको छ । कोकाकोलाको नेपालको बजार तथा यहाँ उसले गरिरहेका सामाजिक कामका विषयमा बजोरियासँगको सफल कुराकानीको सार:

कोकाकोलालाई नेपालको बजार यस क्षेत्रका अन्य बजारको तुलनामा कत्तिको फरक छ ? 
दक्षिण–पश्चिम क्षेत्रका देशहरूमध्ये नेपालको बजार हाम्रा लागि सबैभन्दा ठूलो बजार हो । त्यसो हुँदा नेपालको बजार हाम्रा लागि अत्यन्तै महत्वपूर्ण छ । नेपालको बजार हाम्रा लागि ठूलो मात्रै छैन, तीव्र  रूपमा विस्तार पनि भइरहेको छ । कोकाकोला कम्पनी विश्वका सबै बजारमा पुगेको छ । हामी विश्वका २ सय ६ भन्दा बढी मुलुकमा पुगेका छौँ । नेपाली बजारमा पनि हामी ४० वर्षभन्दा बढी समयदेखि उपलब्ध छौँ । हाम्रो मार्केटिङको मूल मन्त्र नै समाजको सबै तप्कामा उपलब्ध हुनु हो । उपभोक्ताको आवश्यकता र आकांक्षा पूर्ति गर्नु हाम्रो दायित्व हो । उपभोक्तालाई रिफ्रेसमेन्ट दिन हामी सधैँ काम गरिरहेका हुन्छौँ । यसबाहेक नेपालमा हामी थप काम पनि गरिरहेका छौँ, जसले युवाहरूलाई हामीसँग जोड्छ, जसले यहाँको उपभोक्ताको रुचि बुझ्न हामीलाई सहयोग गर्छ । त्यस्तै, हामीले कोकाकोलालाई खानासँग जोड्ने विभिन्न कार्यक्रम गरिरहेका छौँ । हामी मोमोत्सव भन्ने काम्पेन गर्छौँ, जसले कोकाकोलालाई मोमो तथा त्यस्तै अन्य खानासँग जोड्छ । यो क्याम्पेनमा हामीले १० हजारभन्दा बढी फुड आउटलेटसँग सम्झौता गरिसकेका छौँ । हामी खानासँग सम्बन्धित विभिन्न कार्यक्रमलाई प्रायोजन गर्छौँ । गर्मी मौसममा यसबाहेकका अन्य कार्यक्रम पनि हामी गर्छाैँ, किनभने गर्मीमा नै हाम्रो उत्पादन बिक्री हुने सबैभन्दा महत्वपूर्ण समय हो । गर्मी मौसममा मानिसमा डिहाइडड्रेसनको सम्भावना हुन्छ, जसबाट बच्न धेरै तरल पदार्थ खानुपर्छ । कोकाकोलाले विभिन्न पेय पदार्थका माध्यमबाट त्यो आवश्यकता पूर्ति गर्छ ।

तपाईंहरूले नेपालमा किन्ले पानीको उत्पादन पुनः सुरु गर्नुभएको छ । यहाँको प्याकेज्ड खानेपानी उद्योगमा तपाईंहरूले कस्तो गरिरहनुभएको छ ? 
नेपालमा प्याकेज्ड खानेपानी उद्योगको बजार बढिरहेको छ, किन्लेका लागि यो राम्रो कुरा हो । प्याकेज्ड खानेपानी उद्योग मुलुकका लागि धेरै नै महत्वपूर्ण हुन्छ । यसले उपभोक्तालाई धेरै नै सहज बनाउँछ, सुरक्षित र सफा खानेपानी उपलब्ध गराउँछ । यसले पानीका कारण लाग्ने धेरै रोगबाट मानिसलाई बचाउँछ । हामीसँग उपभोक्ताले रुचाउने उत्पादन छन् । हामीले दिगो विकासको एजेन्डालाई पनि अघि बढाएका छौँ । हामीले पानीमा सबैभन्दा कम वजनको बोतल प्रयोग गर्छौँ, ता कि सबैभन्दा कम प्लास्टिक प्रयोग होस् ।

नेपाली बजारमा उपलब्ध हुनेमध्ये ९९ प्रतिशत हाम्रा वस्तु नेपालमै उत्पादन हुन्छन् । यही वर्ष मात्रै हामीले क्षमता विस्तार गर्न ३ अर्ब रुपैयाँ लगानी गरेका छौँ । लगानी भनेको भइरहने विषय हो, एकपटक मात्रै  हुने होइन । हामी यहाँ छोटो अवधिका लागि मात्रै आएका होइनौँ, यहीँ रहनका लागि आएका छौँ । त्यसो हुँदा लगानीको नयाँ अवसर पनि खोजिरहेका छौँ ।

कच्चा पदार्थको सन्दर्भमा आयात र स्थानीय उत्पादनको अवस्था कस्तो छ ? थप कच्चा पदार्थ पनि यहीँ उत्पादन गर्ने विषयमा के सोचाइ छ ?
हामी बोटलिङको व्यवसायमा छौँ । तर, हामी यस्तो इकोसिस्टमलाई प्रवर्द्धन गर्न चाहन्छौँ, जहाँ स्थानीय आपूर्तिकर्ताको क्षमता विकास होस् । त्यसले हामीलाई  कार्यकुशल बन्न र मूल्यलाई तल राख्न सघाउ पुग्छ । त्यसो हुँदा हामी स्थानीय आपूर्तिकर्ताको क्षमता विकासमा ध्यान दिन्छौँ । कोकाकोलामा प्रयोग हुने चिनीलगायत धेरै कच्चा पदार्थ स्थानीय बजारबाट नै लिने गरेका छौँ ।

 नेपाली बजारमा तपाईंले सामना गर्नुभएको विशिष्ट चुनौतीचाहिँ के हो ? 
सबै व्यवसायका चुनौती हुन्छन् । हामीले सामना गर्ने समस्या यहाँ रहेका अन्य व्यवसायका भन्दा फरक होइनन् । यहाँ बिजनेस साइकलको विषय सान्दर्भिक हुन्छ । हामी पनि बिजनेस साइकलको अधिनमा हुन्छौँ । त्यसो हुँदा हामीले सबैभन्दा राम्रो उत्पादन बजारमा पठाउनुपर्छ । त्यो कुरा सबैभन्दा राम्रो ढंगले उपभोक्तालाई भन्न सक्नुपर्छ । वास्तवमा यो हाम्रो चुनौती हो र अवसर पनि हो । यो निरन्तर प्रक्रिया पनि हो । हामी यही समग्र प्रणाीको एक अंग हौँ, छुट्टै केही होइनौँ ।

तपाईंहरू नेपालमा वातावरणीय मुद्दामा पनि काम गरिरहनुभएको छ । हालै तपाईंहरूले सगरमाथा सफाइ अभियानमा पनि सहयोग गर्नुभयो ? यस विषयमा अहिलेसम्म तपाईंहरूको अनुभव कस्तो रहेको छ ? 
दिगो विकासको अभियान पनि हाम्रो व्यवसायकै एउटा भाग हो । यो व्यवसायभन्दा फरक विषयवस्तु होइन । हामीले दिगोपनसम्बन्धी काम वा संस्थागत सामाजिक उत्तरदायित्वलाई मूल व्यवसायभन्दा फरक ढंगले हेर्दैनौँ । यस क्षेत्रमा हामी मूलभूत रूपमा तीनवटा कुरामा केन्द्रित छौँ । पहिलो पानी हो । हामीले पानी संरक्षण  तथा पानी रिचार्जका लागि धेरै काम गरेका छौँ । हामीसँग धेरैवटा वाटर रेस्टोरेसन प्रोजेक्टहरू छन्, जसले शुद्ध खानेपानी उपलब्ध गराउन सकून् । दोस्रो ठूलो क्षेत्र कृषि हो, जसमार्फत स्थानीय उखु किसान तथा फलफूल उत्पादकलाई सहयोग गर्छौँ । तेस्रो रिसाइक्लिङको क्षेत्र  हो । यस  क्षेत्रमा हामीले नगरभित्र,  क्रियसन्स, डब्लुडब्लुएफ लगायत वातावरणमा काम गरिरहेका संस्थाहरूसँग साझेदारी गरिरहेका छौँ । पिइटी बोतल संकलन र रिसाइक्लिङमा उनीहरूसँग मिलेर हामीले काम गरिरहेका छौँ । यस क्षेत्रमा हामी थप काम गरिरहेका छौँ । सगरमाथा सरसफाइ पनि यिनै गतिविधिको एउटा पाटो हो । यस अभियानमा हामीले नेपाली सेना, नेपाल सरकार, नेपाल पर्यटन बोर्ड, एसपिसिसीलगायतसँग काम गर्ने अवसर पायौँ । यो  अवसर हाम्रा लागि निकै महत्वपूर्ण रह्यो ।

कोकाकोला संसारकै सबैभन्दा ठूलोमध्येको कम्पनी हो । तपाईंहरू कसरी आफ्ना उत्पादनलाई संसारभरि नै एउटै गुणस्तरको र सबैले मन पराउने किसिमको बनाउनुहुन्छ ? 
हाम्रो १ सय ३३ वर्षको इतिहास र २ सय ६ भन्दा बढी बजारमा कोकाकोलाको गुणस्तर र स्वाद सधैँ समान रहिआएको छ । यो हाम्रो गर्वको विषय हो । ठूलो मात्राको स्रोत, पहल र समय लगानी गरेर मात्रै यो  सम्भव भएको हो । हामीले हाम्रो उत्पादनलाई सुरक्षित बनाएका छौँ, सबै मुलुकका नियम–कानुनको पालना गरेका छौँ । त्यस्तै, हामीले देश र समाजअनुसार स्थानीय स्वादलाई पनि आत्मसात् गरेका छौँ । त्यसैले हामीले संसारभरि नै उत्कृष्ट गुणस्तरका वस्तु उपलब्ध गराउन सकेका छौँ ।

कोकाकोलाजस्तै अन्य धेरै उत्पादन बजारमा छन् । कोकाकोलाले यो बदलिँदो समाजमा आफ्नो ‘ब्रान्ड पर्सनालिटी’लाई कसरी प्रस्तुत गर्छ ? र, आफ्नो ब्रान्ड लोयल्टीलाई कसरी कायम राख्छ ?
हामीसँग कोकाकोलाजस्तै अन्य ब्रान्ड पनि छन् । विश्वव्यापी रूपमा हामीसँग ५ सयभन्दा बढी ब्रान्ड हुनुपर्छ । उपभोक्ताका विभिन्न आवश्यकतालाई पूर्ति गर्न यति धेरै ब्रान्ड उत्पादन गरिएको हो । कोकाकोला त्यहीमध्येको एक ब्रान्ड हो, जो १ सय ३३ वर्षभन्दा बढी समयदेखि बजारमा छ । यो हाम्रो फ्ल्यागसिप ब्रान्ड पनि हो । हामी सधैँ युवासँग जोडिने गर्छौँ, स्थानीय उपभोक्तासँग जोडिन्छौँ । स्थानीय गतिविधिलाई हामी सधैँ प्रोत्साहन गर्छौँ, हरेक देशको उत्साहसँग हामी आफूलाई पनि अघि बढाउँछौँ । विश्वका हरेक देशका उपभोक्ताको इच्छा र आवश्यकताअनुसार हामी उपस्थित  हुन्छौँ । हाम्रो सफलताको रहस्य यही हो ।

नेपाली बजारमा कोकाकोलासँग सम्बन्धित धेरै नक्कली उत्पादन पनि देखिन्छन् । यो समस्यालाई कसरी समाधान गर्दै  हुनुहुन्छ ? 
यसमा दुई पक्ष छन् । पहिलो, यदि कसैले कुनै उत्पादनको नक्कल गर्छ भने तपाईंको उत्पादन सफल  छ भनेर बुझ्नुपर्छ । तर, हामी कपी गरिएका उत्पादनबाट उपभोक्ताहरू नठगियून् भन्ने चाहन्छौँ । त्यसो हुँदा त्यस्ता उत्पादन बन्द गर्न हामी कानुनी लडाइँ लडिरहेका छौँ । यसमा अदालतले गर्ने   फैसलाको सम्मान गर्नेछौँ । यसका साथै हामी हाम्रा उत्पादनका विषयमा उपभोक्तालाई पनि निरन्तर रूपमा शिक्षा दिइरहेका छौँ ।

कोकाकोला र पेप्सीबीच  संसारभरि नै ठूलो प्रतिस्पर्धा छ । नेपालको बजारमा यी दुईबीचको प्रतिस्पर्धालाई तपाईं कसरी मूल्यांकन गर्नुहुन्छ ? 
कोक र पेप्सी लोकगीतजस्तै बनिसकेका छन् । वर्षौँदेखि यी दुई उत्पादन बजारमा छन् र प्रतिस्पर्धा गरिरहेका छन् । बजारमा यस किसिमको प्रतिस्पर्धा  हुनु राम्रो पनि हो । स्वस्थ प्रतिस्पर्धाले हामीलाई उपभोक्तामैत्री बन्न सघाउ पुर्‍याउँछ, बजार विस्तार गर्न पनि सघाउँछ । त्यसो हुँदा यो प्रतिस्पर्धालाई हामी प्रशंसा नै गर्छौँ । नेपालको सन्दर्भमा कुरा गर्दा पेप्सीको तुलनामा कोकाकोलाको बजारहिस्सा निकै ठूलो छ ।


ताजा खबर