भारतमा कोरोना संक्रमितका संख्या दश लाख नाघ्यो : एकैदिन ६८७ को मृत्यु

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १० लाख नाघेको छ । एकैदिनमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाको सङ्ख्या ३४ हजार ९५६ पुगेको छ । यो सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीले शुक्रबार जानकारी दिएका छन् ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा ३४ हजार ९५६ सङ्क्रमित भएको जनाएको छ । मन्त्रालयका अनुसार योसँगै भारतमा कुल सङ्क्रमितको सङ्ख्या १० लाख ३ हजार ८७६ पुगेको छ ।

त्यसैगरी भारतमा गत २४ घण्टामा कोरोनाका कारण ६८७ जनाको मृत्यु भएपछि कोभिड १९ बाट मृत्यु हुनेका सङ्ख्या २५ हजार ६०२ पुगेको छ । भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या तीन लाख ४२ हजार ४७३ रहेको छ भने ६ लाख ३५ हजार ७५७ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।

भारतमा महाराष्ट्र राज्य अत्यन्त प्रभावित भएको छ । यहाँ सङ्क्रमितको सङ्ख्या २ लाख ८४ हजार २८१ पुगेको छ । तीमध्ये ११ हजार १९४ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी कोरोनाबाट दोस्रो धेरै प्रभावित भएको तमिलनाडु राज्यमा एक लाख ५६ हजार ३६९ सङ्क्रमित हुँदा २ हजार २३६ जनाको मृत्यु भएको छ ।
केन्द्रीय राजधानी समेत रहेको दिल्ली राज्यमा पनि एक लाख १८ हजार ६४५ जना सङ्क्रमित भएका छन् भने ३ हजार ५४५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।


ताजा खबर