नक्कली भाञ्जा बनाएर मिर्गौला प्रत्यारोपण गर्ने चिकित्सकसहित १२ पक्राउ

कानूनमा मिर्गाैला प्रत्यारोपणका लागि आफ्नै नातेदार चाहिन्छ । अन्य व्यक्तिको मिर्गौला प्रत्यारोपण गरेमा मानव बेचबिखनअन्तर्गत मुद्दा चल्छ । उक्त मुद्दा आकर्षित हुने गरी ललितपुरका एक व्यक्तिको मिर्गाैला प्रत्यारोपण गरेको पाइएको छ।

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार नक्कली भाञ्जा बनाएर ती व्यक्तिले नाता नपर्ने अर्कैको मिर्गौला प्रत्यारोपण गरेको पाइएको हो । उक्त घटनामा अस्पतालका चिकित्सक, ललितपुर र चितवनका प्रशासन कार्यालयका कर्मचारी, जनप्रतिनिधि र प्रहरीको समेत संलग्नता रहेको देखिएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिनुभयो।

ललितपुरका ती बिरामीको चितवनस्थित कलेज अफ मेडिलक साइन्सेज शिक्षण अस्पताल भरतपुर (पुरानो मेडिकल कलेज) मा विसं २०७६ साल जेठ २७ गते मिर्गाैला प्रत्यारोपण गरिएको थियो । सो घटनाका विषयमा त्यही साल असोज २ गते चिठीमार्फत आएको बेनामे उजुरीका आधारमा ब्युरोले अनुसन्धान थालेको थियो ।

शुरुमा उजुरी दिने व्यक्ति सम्पर्कमा नआउँदा उसलाई लुकाएर भारत पुर्‍याएको छ कि भन्ने कोणबाटसमेत प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धानकै चरणमा उनी प्रहरीको सम्पर्कमा आए । त्यसपछि लगातार छ महिना लगाएर प्रहरीले अनुसन्धान गर्दा कैफियत भएको निष्कर्ष निकालेको एक प्रहरी अधिकृतले बताउनुभयो । केही हप्ताअघि किटानी जाहेरी नै परेपछि ब्युरोले अनुसन्धानको घेरा फराकिलो पारेको हो ।

प्रहरी स्रोतका अनुसार जाहेरवालाले आफूलाई प्रलोभनमा पारेर ललाइफकाइ गरी मिर्गौला झिकेको आरोप लगाएका छन् । शुरुमा आठ जनाविरुद्ध जाहेरी परे पनि सोधपुछका क्रममा अन्य व्यक्तिको समेत नाम खुलेपछि १२ जनाविरुद्ध अनुसन्धान थालिएको छ ।

१२ जना पक्राउ

ब्युरोले उक्त घटनाको अनुसन्धानका लागि १२ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत रामचन्द्र ढकाल, गैँडाकोट घर भई कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भरतपुरका कानूनी सल्लाहकार रमेश काफ्ले, विराटनगर घर भई हाल सोही अस्पतालका प्रमुख सञ्चालक अधिकृत डा सुप्रभात श्रेष्ठ, गोरखा पालुङटार घर भई सोही अस्पतालमा कार्यरत डा बालकृष्ण कालाखेती, काठमाडौँ बानेश्वर बस्ने नोबेल अस्पतालका डा राकेशकुमार वर्षा, भक्तपुरका जमुनाराज भण्डारी रहेका छन् ।

यस्तै गुल्मी घर भई टोखामा अस्थायीरुपमा बस्दै आएका प्रहरी सहायक निरीक्षक भीमप्रसाद खनाल, झापा घर भई काठमाडौँ टोखा बस्ने निलम्वित प्रहरी नायब निरीक्षक योगेन्द्रराज थपलियालाई समेत विचौलिया गरेको आरोपमा पक्राउ परेका छन् ।

अन्य पक्राउपर्नेमा भोजपुर घर भई भक्तपुर जगाति बस्ने रेश्मा राई, ललितपुर– ३ का वडाध्यक्ष श्रीगोपाल महर्जन, जिल्ला प्रशासन कार्यालय ललितपुरका तत्कालीन खरिदार नवराज केसी र कार्यालय सहयोगी रामकुमार केसी रहेको ब्युरोले जनाएको छ ।

उनीहरु विरुद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अन्तर्गतको कसुरमा आज जिल्ला अदालत ललितपुरबाट छ दिनको म्याद थप गरी ब्युरोले अनुसन्धान थालेको छ । ऐनको परिच्छेद ४ को दण्डसजायअन्तर्गत उपदफा १ (ग) मा प्रचलित कानूनबमोजिम बाहेक मानिसको कुनै अङ्ग झिक्नेलाई १० वर्ष कैद र दुई लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना हुने कानूनी व्यवस्था छ ।  रासस


ताजा खबर