समाजवादी पार्टी नेपालद्वारा सरिता गिरीलाई कारवाही :सांसद र पार्टीको साधारण सदस्य समेत नरहने

समाजवादी पार्टी नेपालले सांसद सरिता गिरीलाई पार्टीको ह्वीप नमानेको भन्दै सांसद र पार्टीको साधारण सदस्यबाट समेत हटाउने निर्णय गरेको छ। मंगलबार बसेको पार्टी पदाधिकारी बैठकले गिरीलाई सांसद र पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरिएको हो।

पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले गिरीलाई सांसद पदबाट हटाइएको जानकारी निर्वाचन आयोग र संसद सचिवालयलाई दिने जनाए।

लिम्पियाधुरासहितको भूभाग समेटिएको अद्यावधिक नेपालको नक्शा परिमार्जन गर्नका लागि संविधान संशोधन प्रस्तावमाथि असहमति राखेकी गिरीलाई पार्टी ह्वीप उल्लंघन गरेको आरोपमा कारवाहीका गर्न पार्टीले बनाएको कार्यदलले सिफारिश गरेको थियो।

गिरीले लिपुलेक, लिम्पियाधुरा समेटिएको नेपालको नक्शा सहितको निशान छाप बदल्नका लागि भएको संविधान संशोधनमा पार्टी ह्वीप उल्लंघन गरेकी थिइन्। उक्त विषय छानबिन गर्न समाजवादीले पार्टी महासचिव रामसहायप्रसाद यादवको संयोजकत्वमा मोहम्मद इस्तियाक राई र सुशीला श्रेष्ठ सदस्य रहेको कार्यदल बनाएको थियो।

३२ जेठमा निशान छाप परिवर्तन गर्न संविधान संशोधनका लागि भएको मतदानमा समाजवादी पार्टीले संविधान संशोधनका पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो।

प्रस्तावमा संशाेधन हालेकी सांसद गिरीले संसदमा बोल्न नपाएपछि बैठक चलिरहँदा नै बाहिरिएकी थिइन्।


ताजा खबर