सफल नेपाल साप्ताहिक १३ औं वर्षमा

प्रकाशकीय

‘तेह्र बर्षको यात्रा’

सफल नेपाल साप्ताहिक आजदेखि १३ औं वर्षमा प्रवेश गरेको छ । मोफसलको सानो जिल्ला सिन्धुलीबाट चौतर्फि अभावका विच सुरु भएको साप्ताहिक पत्रिकाको प्रकाशन निरन्तर १३ वर्ष सम्म चलिरहनुलाई हामीले गौरवको रुपमा लिएका छौ ।

युवा जोश र जागरमा पत्रिका प्रकाशन गर्न उत्साहित हुने तर केहि अंक प्रकाशन पछि आर्थिक अभाव, समयको अभाव, पत्रकारीता भन्दा राम्रो जागिर अन्य पेशा व्यवसायमा संलग्न भएर पत्रिका बन्द हुने यथार्थको सिकार सफल नेपाल साप्ताहिक हुनु नपरेको प्रमाण पेश गर्दै प्रत्येक वर्ष असार २१ गते पत्रिका प्रकाशनको एक वर्ष थप भएको सन्देश दिन हाजिर हुन पाउदा हामीलाई गर्व महसुस हुन्छ । अझ यो वर्ष देखि पत्रिकाले सफल नेपाल डटकम  www.saphalnepal.com.np मार्फत अनलाईन सस्करण बाट समेत पाठक हरुलाई छिटो समाचार सम्प्रेषण गर्ने कार्यको आरम्भ गरेको खवर सुनाउदा पाउदा हामी अत्यन्तै हर्षित भएका छौ ।

सञ्चारका अत्यन्तै छिटो र प्रभावकारी अन्य माध्यमहरुको सहज पहुँचसँगै पत्रिका प्रकाशनको कार्य चुनौतिपूर्ण बन्दै गएको छ । देशको अग्रणि सञ्चार गृह कान्तीपुर मिडिया ग्रुपले आफ्ना चलेका प्रकाशनहरु बन्द गर्ने निर्णय गरेर छापा सञ्चार माध्यमको भविष्य के होला भन्ने नयाँ बहस सतहमा ल्याएको बर्तमान परिवेशमा हामीले साप्ताहिक पत्रिकाको प्रकाशनलाई हिम्मतका साथ निरन्तरता दिने प्रतिबद्धता जनाउन सक्नु नै अहिलेको परिवेशमा महत्वपूर्ण साहास सम्झेका छौ ।

सफल नेपाल साप्ताहिक २०६५ सालमा प्रकाशन हुदा रेडियोहरु फाट्ट फुट् मात्र खुल्न थालेका थिए । सञ्चार जगतमा प्रिन्ट मिडियाकै राज थियो । परिस्थिति सहज अवस्थामा नै थियो । तर अहिले चुनौति बढेको छ । जिल्लामा आधा दर्जन भन्दा बढि रेडियोहरु स्थापना भईसकेका छन् । छिन भरमै समाचार सम्प्रेषण गर्न अनलाईन मिडिया र दृष्य सहित प्रसारण गर्न युटुव च्यानहरु आएका छन् । रेडियो, अनलाईन र युटुव च्यानको सहजता सँगै प्रिन्ट मिडियाको विज्ञापन बजार खुम्चीएको छ । यस्तो असहज परिस्थितिमा पनि हामीले साप्ताहिक पत्रिकालाई पृथक ढंगले खोजमुलक समाचारको बाहक बनाउने प्रयासलाई निरन्तरता दिईनै रहेका छौं ।

मिडियाहरुको सर्वसुलभता सँगै सूचनाको पहुँचमा सहजता आएको छ । यद्यपि जथाभावि जो त्यहिले जस्तोसुकै विषयलाई समाचारको रुपमा प्रकाशन प्रसारण गर्ने, चरित्रहत्या, व्यक्तिगत लाभ हानीका विषय समाचारको शिर्षक बन्ने र अहिलेको पछिल्लो अवस्थामा त हेडलाईन विकृत बनाएर समाचार लेख्ने, हुदै नभएको घटना वस्तुलाई समाचार बनाउने जस्ता गतिविधिहरु भएका छन् । सञ्चार जगतमा फैलीरहेको यस्तो विकृत पूर्ण अवस्थामा प्रेस काउन्सील नेपालबाट बर्गिकरणमा स्थान पाएको, काउन्सीलबाट आचारसंहिता उल्लघन गर्दा नकारात्मक अंको डर राख्ने, जिम्मेबारी बोध गर्ने, छापिएका विषय वस्तुमा बहस र तर्क गर्न सक्ने प्रिन्ट मिडियाको भूमिका महत्वपूर्ण हुन्छ । अहिले विभिन्न मिडियामा विभिन्न समाचारहरु प्रकाशन, प्रसारण भएपनि त्यसको आधिकारीकता खोज्न नाम चलेका मिडियाहरुले लेख्यो कि लेखेन भनेर आधार मान्ने गरेको पाईन्छ । हामीले सफल नेपाल साप्ताहिकलाई पनि त्यस्तै पाठकले आधार मान्ने विश्वासिलो पत्रिकाको रुपमा उभ्याउने प्रयास गरेका छौ । हाम्रो आगामी यात्रा सहि सत्य र सन्तुलित समाचार सम्प्रेषणको मार्गमा अग्रसर हुने छ ।

हामीलाई तेह्रौ वर्ष सम्म ल्याई पुर्याउन सहयोग गर्नुहुने सम्पुर्ण पाठक वर्ग, विज्ञापनदाता, विज्ञापन ऐजेन्सी, पत्रिका विक्रेताहरु, कर्मचारी, छापाखाना, सहयोगि, शुभेच्छुक, शुभचिन्तक, नियमनकारी निकायहरु र सल्लाह सुझाव दिने पत्रकार मित्रहरु प्रति हार्दिक आभार व्यक्त गदछौ ।

प्रकाशक
मुक्तिनाथ मिडिया प्रा. लि.


ताजा खबर