गर्भावस्थालाई जटिल बनाउने मेडिकल समस्याबारे हामी धेरैलाई थाहै छैन

गर्भकालमा मधुमेह, थाइरोइड, जन्डिसदेखि श्वासप्रश्वास र मुटु रोगसम्मका समस्या चर्किने हुनाले नियमित मेडिकल परामर्श आवश्यक हुन्छ।

कतिपय गर्भवती महिलामा पहिल्यैदेखि वा गर्भवती भएपश्चात विभिन्न स्वास्थ्य समस्या देखा पर्छन्। गर्भावस्थामा उच्च रक्तचाप, मधुमेह, मुटुको समस्या, मिर्गौलाको खराबी, मूत्रनली संक्रमण, थाइरोइड ग्रन्थी गडबडी, छारेरोग, रक्तअल्पता, हेपाटाइटिस, यौन रोग, क्षयरोग, एचआईभी एड्स, संक्रामक तथा परजीवीजन्य रोग, दम, निमोनियालगायत समस्या चर्किन सक्छन्।

गर्भवती हुनुपूर्व नै यी खराबीहरू पत्ता लगाउन सक्दा औषधोपचार बढी सहज हुन्छ।

मुटु र मधुमेहको समस्या
गर्भावस्थालाई जटिल बनाउने मेडिकल समस्यामध्ये मुटु र मधुमेहको समस्या प्रमुख हुन्। अस्पतालमा सुत्केरी हुनेमध्ये करीब एक प्रतिशतमा मुटु रोगको समस्या पाइएको छ। घरमै सुत्केरी हुनेक्रममा मृत्यु हुनेमध्ये कतिमा यो समस्या हो भन्ने थाहा हुँदैन।

बाल्यावस्थामा बाथज्वरो बिग्रिएर मुटुको भल्भमा समस्या भएका महिलाहरूले गर्भकाल वा सुत्केरी हुँदा मृत्युको जोखिमबाट गुज्रनुपरेको देखिन्छ।

त्यस्तै, नेपालमा तथ्यगत अध्ययन नभए पनि गर्भवती महिलामा देखिने मधुमेहमध्ये ९० प्रतिशत गर्भकै कारण भएको हुन्छ। गर्भवती अवस्थामा मधुमेह देखा परेका करीब ५० प्रतिशत महिलालाई ५ देखि २० वर्षपछि यो समस्याले आक्रान्त पार्ने गरेको छ। जङ्क फूड, चिल्लो खाना, गुलियो ड्रिंक्सलगायतका खानपिनले नेपालमा यो समस्या चर्काइरहेको छ।

कलिलो उमेरमै वंशाणुगत खालको मधुमेहबाट प्रभावितहरूमा प्यान्त्रि्कयाज ग्रन्थीको इन्सुलिन उत्पादन गर्ने कोष नष्ट भइसकेको हुन्छ। यस्तो खालको मधुमेह नियन्त्रणका लागि इन्सुलिन नै चाहिन्छ। ढल्किंदो उमेरका तथा मोटोपना भएकाहरूको शरीरमा इन्सुलिनको कार्य क्षमता घटेर दोस्रो प्रकारको मधुमेह हुन्छ। यसको उपचारमा औषधि सेवनसँगै जीवनशैली परिवर्तन गर्नुपर्छ।

गर्भावस्थाको दोस्रो वा तेस्रो त्रैमासिकमा कार्बोहाइड्रेट पचाउन सक्ने क्षमतामा गडबडी हुन सक्छ। फलतः रगतमा चिनीको मात्रा सामान्यभन्दा बढी भएर मधुमेह देखा पर्न सक्छ।

थाइरोइड समस्या
एक हजार गर्भवती महिलामध्ये तीन जनामा थाइरोइड ग्रन्थीको कामगराइ कम हुन सक्छ। आलस्य, कब्जियत, जाडो खप्न नसक्नु, मांसपेशी दुख्नु, निद्रा नलाग्नु, तौल बढ्नु, नाडी दुख्नु, कपाल र्झ्नु, स्वर परिवर्तन हुनु, स्मरण शक्ति घट्नु, आँखा वरिपरि सुन्निनु, छाला सुक्खा हुनु आदि थाइरोइड समस्याका लक्षण हुन्।

हजार जना गर्भवती महिलामध्ये दुई जनामा भने थाइरोइड ग्रन्थीको कामगराइ बढी हुन सक्छ। गर्भावस्थामा मुटुले रगत फ्याँक्ने मात्रा, अक्सिजन खपत ताप उत्पादन बढ्ने हुनाले यस्तो खाले समस्या हुन्छ।

धड्कन बढ्नु, नर्भस हुनु, गर्मी खप्न नसक्नु, बढ्ता उल्टी हुनु, वजन घट्नु, आँखा ठूलो र बाहिर आएको जस्तो लाग्नु शरीरमा थाइरोइड ग्रन्थीको कामगराइ बढेको लक्षण हुन्। रगत जाँचबाट थाइरोइड ग्रन्थीको कामगराइ कम वा बढी भएको थाहा पाइन्छ।

जन्डिस र श्वासप्रश्वास समस्या
रगतमा बिलिरुबिनको मात्रा दुई मिलि ग्रामभन्दा बढ्ता हुन थाल्यो भने जन्डिस देखा पर्छ। प्रति एक हजार गर्भवती महिलामध्ये चार जनासम्मलाई यो समस्या हुने गरेको छ। वातावरणीय तथा व्यक्तिगत सरसफाइमा कमी हुँदा यो समस्या आउँछ।

कलेजोमा पित्त प्रवाह थुनिनु, उच्च रक्तचापको जटिलता हुनु, कलेजोमा बोसो जम्नु, उल्टी आउने समस्या चर्कनु, शरीरभर रक्तनलीमा रगत जम्नु जन्डिसको गर्भावस्थासँग सम्बन्धित कारण हुन्।

मौसम अनुसारको भाइरल हेपाटाइटिस (ए, ई, जी) लाग्नु, पित्तथैली वा पित्त बहने नलीमा पत्थरी हुनु, कतिपय औषधि सेवन, रगत लिंदा समूह नमिल्नु, तराई तथा भित्री मधेशमा औलो संक्रमण बिग्रेर हुने जन्डिस गर्भावस्थासँग असम्बन्धित कारण हुन्। गर्भवती महिलामध्ये चार प्रतिशतमा श्वासप्रश्वास सम्बन्धी समस्या देखिने गरेको छ।

यसमा गर्भावस्थाले कस्तो प्रभाव पार्छ भन्न सकिन्न। श्वासप्रश्वासको समस्या भएका दम्पतीहरूले गर्भधारण गर्नुपूर्व मेडिकल परामर्श लिनु राम्रो हुन्छ। दम्पतीमध्ये एक जनामा दमको समस्या छ भने उनीहरूको शिशुमध्ये ८ देखि १६ प्रतिशतमा यो समस्या देखापर्छ।

आमाबाबुबाट बच्चामा हुने संक्रमणको कुरा गर्दा एचआईभी/एड्सको उल्लेख गर्नैपर्छ।

वैदेशिक रोजगारमा रहने, यातायात, होटल/रेस्टुराँ तथा पर्यटनकर्मीहरू एचआईभी संक्रमणका हिसाबले बढी जोखिममा हुने मानिन्छ। असुरक्षित यौनसम्पर्कलाई ८० प्रतिशत एचआईभी/एड्स संक्रमणको कारक मानिन्छ।

त्यस्तै, पुरुषबाट महिलामा एचआईभी/एड्स संक्रमण हुने सम्भावना दोब्बर हुने मानिन्छ भने संक्रमित आमाबाट गर्भे शिशुमा सर्ने सम्भावना ४० प्रतिशतसम्म हुन्छ।


ताजा खबर