दक्षिण अमेरिकी मुलुकहरु कोभिड-१९ को हटस्पट बन्दै : ब्राजिलमा मात्रै ५१ हजार बढीले ज्यान गुमाए

विश्वमा कोरोना भाइरसको संक्रमणका कारण ५० हजारभन्दा बढी मानिसको मृत्यु हुने देशमा अमेरिकापछि ब्राजिल बनेको छ । ब्राजिल पछिल्लो समय ल्याटिन अमेरिकी मुलुकहरुमा कोरोनाको हटस्पट बनेको छ ।

ब्राजिलमा हालसम्म ५१ हजार २ सयभन्दा बढी मानिसले कोरोना संक्रमणकै कारण ज्यान गुमाइसकेका छन् । मृत्युदर मात्र नभई संक्रमित हुनेहरुमा पनि ब्राजिल अमेरिकापछिको दोस्रो नम्बरमै रहेको छ । ब्रजिलमा हालसम्म ११ लाखभन्दा बढी मानिस कोरोनाबाट संक्रमित भइसकेका छन् । राजनीतिक तनावकै बीच ब्राजिलमा कोरोना संक्रमितको संख्या लगातार बढिरहेको छ ।

अर्थतन्त्रलाई गति दिनेभन्दै लकडाउन खुल्ला गर्दा ब्राजिलले ठूलो मूल्य चुकाउनु परेको छ । कोरोना संक्रमणले उचाई लिएकै बेला ब्राजिलमा दुई जना स्वास्थ्य मन्त्रीले पद छोडिसकेका छन् । चिकित्सक समेत रहेका दुई जना स्वास्थ्यमन्त्री मध्ये एक जनालाई राष्ट्रपतिले हटाएका थिए भने दोस्रो पटक मन्त्री बनेका राष्ट्रपतिको कार्यशैलीबाट असन्तुष्ट भइ राजिनामा दिएका हुन् ।

कोरोना भाइरसको संक्रमणको पछिल्लो अवस्था हेर्दा विश्वमा हालसम्म ४ लाख ७० हजार ७ सयभन्दा बढी मानिसले कोरोना संक्रमणकै कारण ज्यान गुमाइसकेका छन् । यसै गरी विश्वव्यापी रुपमा संक्रमित हुनेको संख्या पनि ९० लाख ५७ हजार ५ सय नाघिसकेको छ । विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरस सङ्क्रमण अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि भएको जनाएको छ ।

डब्ल्यूएचओका अनुसार विगत २४ घण्टामा एक लाख ८३ हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिएका छन् । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित छ । अमेरिकामा हालसम्म १ लाख २० हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने संक्रमित हुनेको संख्या पनि २३ लाख १० हजार नाघिसकेको छ ।

संक्रमितको संख्याका आधारमा अमेरिकापछि ब्रालिल दोस्रो स्थानमा र रुस तेस्रो स्थानमा रहेका छन् । रुसमा हालसम्म ५ लाख ९१ हजारभन्दा बढी संक्रमित पुगिसकेका छन् । चौथो स्थानमा दक्षिण एसियाली मुलुक भारत रहेको छ । भारतमा हालसम्म ४ लाख २५ हजार संक्रमित नाघिसकेका छन् ।

कोरोनाको विश्वव्यापी मृत्युदर हेर्दा विश्वमा संयुक्त राज्य अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा बेलायत रहेको छ । बेलायतमा हालसम्म ४२ हजार ७ सयभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् । संक्रमितको संख्या भने बेलायतको पाँचौ स्थानमा रहेको छ । बेलायतमा हालसम्म ३ लाख ६ हजार ७ सय बढी संक्रमित रहेका छन् ।

संक्रमण दर उच्च रहेका भारत र रुसको मृत्युदर भने अन्य देशको तुलनामा कम रहेको छ । भारतमा कोरोना संक्रमणका कारण १३ हजार ७ सयको हाराहारीमा मृत्यु भएको छ भने रुसमा ८ हजार २ सयको हाराहारीमा मानिसले ज्यान गुमाएका छन् ।


ताजा खबर