कोरोनाले थप एकजनाको मृत्यु र ४२१ जनामा संक्रमण पुष्टी : नेपालमा संक्रमितको संख्या ९ हजार नाघ्यो

आज थप ४ सय २१ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या ९ हजार २६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज थप ३ सय ५७ जना पुरुष र ६४ जना महिलामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले दिनुभएको जानकारी अनुसार आज झापाका ६, उदयपुरका ५, धनुषाका ८, अर्घाखाँचीका ७४, डडेलधुराका ४१, डोटीका २७, गुल्मीका ७, कैलालीका २७, कपिलवस्तुका २५, नवलपरासी पश्चिमका २२, दाङका १०, सल्यानका ६, प्युठानका २०, सर्लाहीका ५, सिराहाका ५२, बागलुङका २३, स्याङजाका १०, पाल्पा, तनहुँ, रोल्पा र म्याग्दीका ४–४, बारा र बर्दियाका ३–३, पर्वत, रुपन्देही, सुर्खेत, महोत्तरी, सप्तरी, मोरङ, सुनसरी, नवलपरासी पूर्व, अछाम, बैतडी, र बझाङका २–२, बाँके, दैलेख, नुवाकोट, रामेछाप, ललितपुर, कास्की, मुस्ताङ र कञ्चनपुरका १–१ जनामा संक्रमण पुष्टि भएको छ ।

आज मुस्ताङमा नयाँ संक्रमित भेटिए संगै हाल सम्म ७५ जिल्लाका ८ हजार २ सय ६ जना पुरुष र ८ सय २० जना महिलामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी आज थप १ सय ९४ जना कोरोना भाइरसको संक्रमण मुक्त भएसंगै हाल सम्म संक्रमण मुक्त भई घर फर्किनेको कूल संख्या १ हजार ७ सय ७२ पुगेको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार आज विभिन्न आईसोलेसन सेन्टरबाट १ सय ८६ जना पुरूष र ८ जना महिला संक्रमण मुक्त भएका छन् ।

नेपालमा हाल सम्म १ सय ४९ जना महिला र १ हजार ६ सय २३ जना पुरुष संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी यही असार ५ गते मृत्यु भएका गुल्मीको छत्रकोट गाउँपालिका वडा नं. ५ मैनडाँडाका ६९ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएसंगै मृत्यु हुनेको संख्या २३ पुगेको छ ।

प्यारालाईसिसको उपचारका लागि भारत गएर जेठ २५ गते नेपाल फर्किएर होम क्वारेन्टाईनमा रहेको अवस्थामा उहाँको मृत्यू भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।

देशका विभिन्न प्रयोगशालामा हाल सम्म जम्मा १ लाख ७५ हजार १ सय २७ वटा पिसीआर तथा २ लाख ६२ हजार १ सय ७४ वटा आरडिटी विधिबाट परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ८ वटा पिसीआर तथा ९ हजार ८ सय ७४ वटा आरडिटी विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

यसैगरी आज देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा ९४ हजार ९ सय २८ जना रहेका छन् भने विभिन्न आईसोलेसन स्थलहरुमा ७ हजार २ सय ३१ जना रहेको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।


ताजा खबर