‘ब्रिटा’का सह-महासचिवमा नेपालका आशिष गजुरेल निर्वाचित

बेल्ट एण्ड रोड इन्टरनेसनल ट्रान्सपोर्ट अलायन्स(ब्रिटा) को निर्वाचनमा नेपालका आशिष गजुरेल सह-महासचिव पदमा निर्वाचित भएका छन् । जुन १९ मा सम्पन्न भएको निर्वाचनमा उनी  निर्विरोध निर्वाचित भएका हुन् ।

उक्त साधारणसभामा स्विजरल्याण्ड, ग्रीस, नाइजेरिया, चीन, भारत, बेल्जियम, अस्ट्रेलिया, रसिया, दक्षिण अफ्रिका र नेपाल लगायतका दर्जनौ देशबाट ५२ जनाको सहभागिता रहेको थियो । ब्रिटामा विश्वका ५ दर्जनभन्दा बढी देशका सडक, यातायात, पूर्वाधार, विज्ञान र वातावरण इञ्जिनियरिङ्ग तथा अटोमोवाइल क्षेत्रका सरकारी, पेशागत तथा गैर सरकारी संघ संगठन आवद्ध रहेका छन् ।

शुक्रबार भएको साधारणसभामा नेपालबाट नासा फाउण्डेसन नेपालका संयोजक तथा पर्वतीय खेलकुद महासंघ-नेपालका अध्यक्ष गोविन्द भट्टराईको पनि सहभागिता थियो । नेपालबाट नासा फाउण्डेसन सदस्य रहेको सो गठबन्धनमा आशिष गजुरेलले कन्ट्री रिपोर्ट प्रस्तुत गरेका थिए ।

गजुरेलले भने, ‘नेपाल सरकारले बेल्ट एण्ड रोड परियोजनामा २०१५ मै हस्ताक्षर गरिसकेको छ र यो परियोजना अन्तर्गत नेपालले ट्रान्स-हिमालयन करिडोर (रेल) अगाडि सारेको छ जुन पारितसमेत भइसकेको छ । बेल्ट एण्ड रोड परियोजना विकासमा नेपालको समर्थन रहेको छ।’

नेपालले सो साधारणसभामा बेल्ट एण्ड रोड इन्टरनेसनल ट्रान्सपोर्ट अलायन्स अन्तर्गत नेपालमा अन्तराष्ट्रिय स्तरको ट्रान्सपोर्ट एण्ड अटोमोवाइल इन्स्टिच्युट  स्थापना गर्ने र हरेक वर्ष एउटा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने प्रस्तावसमेत गरेको छ ।

हरेक वर्ष यस अलायन्सको साधारणसभा चिनमा हुने गरेको छ ।

उक्त संगठनले  नीतिगत कार्यमा सहयोग, प्राविधिक शीप तथा  ज्ञान हस्तान्तरण, जनस्तरबाट सहभागिता, सभा, समारोह, तालिम तथा अध्ययन-अनुसन्धान लगायतका कार्य गर्दछ ।

निर्वाचित भएपछि गजुरेलले खुशी व्यक्त गर्दै उक्त संस्थाबाट नेपालमा विकासका काम अधिकतम गराउने पहल गर्ने बताउँदै  बेल्ट एड रोड परियोजना अन्तर्गत नेपाल सरकारले छनौट गरेको परियोजनामा सहयोग गर्ने उल्लेख गरे ।


ताजा खबर