नेकपा र नेपाली काँग्रेसबीच नागरिकता विधेयकमा सहमति प्रयास

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका शीर्ष नेताबीच संसद्‍मा विचाराधीन नागरिकतासम्बन्धी विधेयकमा सहमति जुटाउने विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले हिजो साँझ नागरिकता विधेयक र मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) बारेमा छलफल गर्न काँग्रेसका शीर्ष नेताहरुलाई आफ्नो सरकारी निवास बालुवाटारमा बोलाउनुभएको थियो ।

प्रधानमन्त्री ओलीले नागरिकता विधेयक र एमसीसी बारेमा काँग्रेससँग छलफल गर्न बैठक बोलाउनुभएको र बैठक विशेष गरी नागरिकता विधेयकमा केन्द्रित रहेको बैठकमा सहभागी काँग्रेस उपसभापति विमलेन्द्र निधिले जानकारी दिनुभयो ।

एमसीसीका बारेमा प्रधानमन्त्रीले छिट्टै अर्काे बैठक बोलाउने र आफूहरुलाई तयार भएर आउनुहोला भन्नुभएको उहाँले बताउनुभयो । बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले उक्त विधेयकका सम्बन्धमा समितिमा भइरहेको छलफल र सहमतिका बारेमा जानकारी गराउनुभएको थियो ।

काँग्रेस नेताहरुले विधेयकको वैवाहिक अङ्गिकृत नागरिकताको प्रावधान सम्बन्धमा हाल विद्यमान कानूनको व्यवस्था नै राख्नुपर्ने धारणा राख्नुभएको थियो । काँग्रेस नेताहरुले विद्यमान कानूनमा परिवर्तन गरे संवैधानिक व्यवस्था र हालको कानून विपरीत हुने र वैवाहिक अङ्गिकृत नागरिकताको विद्यमान व्यवस्था विवाह गरेर आउने महिलाले पाउने अधिकार भएको तर्क गर्नुभएको थियो ।

उपसभापति निधिले काँग्रेसको आधिकारिक धारणा राख्दै बैवाहिक अङ्गिकृत नागरिकताका सम्बन्धमा हाल विद्यमान कानूनमा कुनै संशोधन र परिवर्तनको आवश्यकता नभएको तर्क गर्नुभएको थियो । साथै उहाँले यसमा सहमति गरेर जानुपर्नेमा जोड दिनुभएको राससलाई जानकारी दिनुभयो ।

बैठकमा प्रधानमन्त्री ओलीसहित नेकपाका तर्फबाट अर्का अध्यक्ष पुष्पकमल दाहाल, महासचिव विष्णु पौडेल, नेताहरु सुवासचन्द्र नेम्वाङ र भीम रावल तथा काँग्रेसका तर्फबाट उपभापति निधि, नेताहरु कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्रबहादुर कार्की, डा मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, रमेश लेखक, राधेश्याम अधिकारी सहभागी हुनुहुन्थ्यो । रासस


ताजा खबर