चिनियाँ राष्ट्रपति काठमाडौं आइपुगे

चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आइपुगेका छन् । भारतको चेन्नईबाट उनी भर्खरै काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् । उनी एयर चाइनाको विशेष विमानबाट काठमाडौं आएका हुन् ।

चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गरेको यो २३ वर्षपछि हो । त्यसैले जनवादी गणतन्त्र चीनका राष्ट्रपति सीको स्वागत सम्मान तथा सुरक्षामा कुनै कसर बाँकी नराख्ने प्रयास नेपाल सरकारले गरेको छ ।

चिनियाँ राष्ट्रपति सवार एयर चाइनाको विमान ठीक ४ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । नेपाली समकक्षी विद्यादेवी भण्डारी विमानको ढोकै अगाडि पुगेर राष्ट्रपति सीलाई स्वागत गरेकी थिइन् । विमान ओर्लिएको स्थानबाट अति विशिष्ट कक्षसम्म उनी चीनबाटै ल्याइएको गाडी चढेर आएका थिए ।

त्यहाँ राष्ट्रपति सीलाई पञ्चकन्याले पनि फूलका मालाले स्वागत गरेका थिए । पञ्चकन्याले दिएका माला सीले आफ्नो हातमा लिए, तर गलामा नलगाइकन आफ्ना सहयोगीलाई दिए ।

सलामीपछि सेनाले गार्ड अफ अनर प्रदान गरेको थियो । त्यसपछि राष्ट्रपति भण्डारीले सीलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, सरकारका वरिष्ठ मन्त्रीलगायतसँग परिचय गराएकी थिइन् ।

विमानस्थल परिसर र वरपर कलाकारहरुले नेपालको भौगोलिक पहिचान झल्किने परम्परागत नाचसहित सीको स्वागत गरेका थिए । सातै प्रदेशको प्रतिनिधित्व हुने गरी सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो ।

त्यसपछि राष्ट्रपति सी विमानस्थलबाट सीधै होटल सोल्टी क्राउनप्लाजा प्रस्थान गरे । उनी चीनबाट ल्याइएकै गाडी चढेर आफू बस्ने होटल सोल्टी क्राउन प्लाजा प्रस्थान गरे । राष्ट्रपति सीसहितको चिनियाँ टोलीको बसोबासको प्रवन्ध सोही होटलमा मिलाइएको छ ।

सीको सवारी रुट सिनामंगल, तिनकुने, नयाँबानेश्वर, माइतीघर, थापाथली, त्रिपुरेश्वर, कालिमाटी हुँदै होटल सोल्टीसम्म निर्धारण गरिएको थियो । सवारीको समयमा विमानस्थलदेखि होटल सोल्टीसम्मको सडकमा सवारी आवागमनमा रोक लगाएर सडक पुरै खाली गराइएको थियो ।

यद्यपि यो सवारी रुटमा पनि सीको स्वागत गर्न निजामती कर्मचारी, विद्यार्थी तथा सर्वसाधारण सडक किनारमा खटिएका थिए । उनीहरुले नेपाल र चीनको राष्ट्रिय झण्डा हातमा लिएर फहराउँदै सीको स्वागत गरेका थिए ।

होटलमा केहीबेर आराम गरेर राष्ट्रपति सी समकक्षी विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न शितल निवासमा पुगेका थिए ।

आफ्नो समकक्षीलाई भेटेपछि राष्ट्रपति सी फेरि होटल सोल्टीमै फर्किए । होटल सोल्टीमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गरे । देउवासँगको भेटवार्ताका लागि करिब सात मिनेट समय छुट्याइएको थियो ।

त्यसपछि राष्ट्रपति भण्डारीले आयोजना गरेको रात्रिभोजमा उनी सहभागी भए । रात्रीभोज कार्यक्रमलाई दुवै देशका राष्ट्रपतिले सम्बोधन गरेका थिए ।

रात्रिभोजमा पूर्वप्रधानमन्त्रीहरु, संवैधानिक अंगका प्रमुखहरु लगायत विशिष्ट पाहुनालाई निम्तो गरिएको थियो । रात्रिभोजमा सहभागी हुनेहरुका लागि ड्रेसकोड अनिवार्य गरिएको थियो ।


ताजा खबर