शनिवार र आइतवार राजधानीको सवारी व्यवस्था प्रभावित हुने / बैकल्पिक सडक प्रयोग गर्न प्रहरीको अनुरोध

चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपालको राजकिय भ्रमणका कारण दुई दिन राजधानीको सवारी व्यवस्था प्रभावित हुने भएको छ।

शनिवार र आइतवार हुन लागेको राष्ट्रपति सीको भ्रमणको समयमा राजधानीका मुख्य सडक प्रयोग नगर्न महानगरीय  ट्राफिक प्रहरी महाशाखाले सवारी चालकलाई अनुरोध गरेको छ। त्यस्तै बैकल्पिक मार्ग प्रयोग गर्न सुझाव पनि दिएको छ। ठुला मालबहाक सवारीको हकमा भने दुई दिन रिङरोड भित्र प्रवेश गर्न समेत रोक लगाएको महाशाखाका एसएसपी भिम ढकालले जानकारी दिए।

चिनियाँ राष्ट्रपति सी शनिवार दिउँसो करिब ४:३० मा त्रिभुवन विमानस्थलमा ओर्लिने कार्यतालिका रहेको छ। त्यहाँबाट उनी कोटेश्वर, नयाँबानेश्वर, माइतिघर, त्रिपुरेश्वर हुँदै ताहाचलस्थित सोल्टी होटल पुग्ने छन्। राष्ट्रपति सवार हुनुभन्दा केही घण्टा अगाडिदेखि नै चालकको लागि सडक बन्द गरिने प्रहरीले जानकारी दिएको छ।

बेलुकी ६:३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतलनिवासमा भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ। चिनियाँ राष्ट्रपति सी करिब ७:३० बजे राष्ट्रपति भण्डारीले सोल्टी होटलमा आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनेछन्।

– रासस


ताजा खबर