नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो

 भारतबाट नेपाल आउने क्रममा यही ज्येष्ठ १० गते निधन भएका अर्घाखाँचीका ३५ वर्षीय पुरुषमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणपछि मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित मिडिया व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले भुमिकास्थान नगरपालिका अर्घाखाँचीका ३५ वर्षीय पुरुषको ज्येष्ठ ११ गते नमुना लिई परीक्षण गर्दा कोरोना सङ्क्रमणको पुष्टि भएको जानकारी दिनुभयो ।

यसै गरी आज थप एक सय ७० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या एक हजार दुई सय १२ पुगेको छ ।

प्रवक्ता डा.देवकोटाले कोसी अस्पतालमा गरिएको परीक्षणमा झापाका २७ जना, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सप्तरीका चार जना र झापाका एक जना, नारायणी अस्पताल वीरगन्जमा बाराका चार जना र पर्साका पाँच जना गरी जम्मा नौ जना, पाटन अस्पताल ललितपुरमा सर्लाहीका एक जना र गण्डकी अस्पताल पोखरामा म्याग्दीका एक जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

यसै गरी भरतपुर अस्पतालमा गरिएको परीक्षणमा कपिलवस्तुका चार जना र नवलपरासी देव चुलीका दुई जना गरी जम्मा छ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका २३ जना, रौतहटका ५६ जना र सर्लाहीका चार जना गरी ८४ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसै गरी रुपन्देही प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तुका १५ जना र रुपन्देहीका एक जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका दुई जना र कपिलवस्तुका नौ जना गरी जम्मा ११ जना, भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका १० जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा.देवकोटाले जानकारी दिनुभयो ।

मन्त्रालयका प्रवक्ता डा.देवकोटाका अनुसार हालसम्म नेपालको ५२ जिल्लाका एक हजार एक सय तीन जना पुरुष र एक सय नौ जना महिलामा कोरोना भाईरस सङ्क्रमणको पुष्टि भएको छ ।

यसै गरी आज थप १९ जना उपचारपछि निको भई डिस्चार्ज भएसँगै हालसम्म कूल दुई सय छ जना उपचारपछि निको भई घर फर्किएका छन् ।

आज टेकु अस्पतालबाट दुई जना, पाटन अस्पतालबाट सात जना, कोरोना विशेष अस्पताल दाङबाट आठ जना, युनिफाईट कोभिड १९ अस्पताल बलम्बुबाट दुई जना उपचारपछि निको भई घर फर्किएको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो ।

हालसम्म एक सय ६२ जना पुरुष र ४४ जना महिला कोरोना भाइरसको उपचारपछि निको भई घर फर्किएको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो ।

नेपालमा आजसम्म कूल ६४ हजार एक सय ५४ जनाको पिसीआर तथा एक लाख पाँच हजार चार सय ७८ जनाको आरडिटि विधिबाट परीक्षण भएको छ ।

पछिल्लो २४ घण्टामा तीन हजार दुई सय ३८ जनाको पिसिआर र तीन हजार चार सय ४४ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो ।

मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ९९ हजार तीन सय ३६ जना रहेका छन् भने विभिन्न अस्पतालका आइसोलेसनमा रहनेको सङ्ख्या एक हजार रहेको छ ।


ताजा खबर