आज गणतन्त्र दिवस : ‘गणतन्त्र घोषणा भएको १२ वर्ष पूरा,जेठ १५ युगान्तकारी दिनका रुपमा स्मरण’

नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको १२ वर्ष पूरा भै १३ औ वर्षमा प्रवेश गरेको छ ।

नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिन जेठ १५ लाइ नेपालको राजनीतिक इतिहासमा युगान्तकारी दिनकारुपमा स्मरण गरिन्छ ।

सशस्त्र जनयुद्ध र १९ दिने जनआन्दोलनपछि २०६५ साल जेठ १५ गते राजतन्त्र अन्त्य गरी देशमा गणतन्त्र स्थापना भएको हो । गणतन्त्रको स्थापनासँगै सार्वभौमसत्ता र राजकीय सत्ताका मालिक नेपाली जनता भएका छन् । पहिला एउटा बंशमा मात्रै केन्द्रित मुलुकको राष्ट्र प्रमुखहुने अधिकार अब आम नगरिकले पाएका छन् ।

गणतन्त्र स्थापनासँगै मुलुकले राजनीतिक तथा प्रशासनिक संरचनामा पनि ठूलो कोल्टे फेरेको छ । देशले संविधान सभाबाट जनताले बनाएको संविधान पाएको छ भने यसैसंविधान अनुसार देश संघीय संरचनामा गएको छ ।

हरेक तहमा समावेशी र समानुपातिक सहभागिता,मौलिक हकको दायरा वृद्धिका साथै नागरिकका आधारभूत आवस्यकताहरू राज्यले पुरा गर्नुपर्ने संवैधानिक व्यवस्था सहित कानून समेत निर्माण भएका छन् ।

गणतन्त्र दिवसका अवसरमा यो वर्ष कोरोना महमारीका कारण कुनै औपचारिक कार्यक्रम राखिएको छैन । तर गृहमन्त्रालयले तीन दिन दिपावली गरी गणतन्त्र दिवस मनाउन आम नागरिकमा अनुरोध गरेको छ ।

मन्त्रालयले सङ्घ प्रदेश तथा स्थानीय तहका सम्पूर्ण सरकारी र गैरसरकारी कार्यालय, आम नागरिक एवं विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासमा पनि तीन दिन साँझ दीपावली गरी गणतन्त्र दिवस बनाउन आग्रह गरेको छ ।


ताजा खबर