एपेन्डिसाइटिस भएको कसरी थाहा पाउने?

  • डा.धुर्व शर्मा मुडवरी

तल्लो पेटको दाहिनेतिर औंला जस्तो आकार भएको थैलीलाई एपेन्डिक्स भनिन्छ । त्यो थैली सुन्निएमा त्यसलाई एपेन्डिसाइटिस भनिन्छ ।

एपेन्डिसाइटिसले पेटको तल्लो भागमा पीडा दिन्छ । तर धेरै मानिसमा नाइटोबाट पीडा शुरू हुन्छ अनि बढ्दै जान्छ । सुन्निने क्रम बढ्दै जाँदा पीडा बढ्छ र निकै चर्को गरी दुख्छ ।

एपेन्डिसाइटिस जसलाई पनि हुन सक्छ र एपेन्डिक्सलाई शल्यक्रिया गरेर हटाउनु नै यसको उपचार हो ।

यसको लक्षणको कुरा गर्दा नाइटो वरपर अचानक पीडा हुन्छ र तल्लो पेटको दाहिनेतिर पीडा सर्छ । अनि खोक्दा, हिँड्दा वा जिउ थर्किंदा पनि पीडा बढ्छ । त्यसपछि रिंगटा लाग्ने र बान्ता आउने हुन्छ । अनि खाना खान मन लाग्दैन । त्यसपछि ज्वरो आउँछ र ज्वरो बढ्दै जान्छ । अनि पेट फुल्न थाल्छ । अपानवायु अर्थात पाद धेरै आउन थाल्छ ।

उमेरअनुसार र एपेन्डिक्सको अवस्थितिअनुसार पीडा हुने ठाउँ फरक फरक हुन सक्छ । गर्भवती महिलाको हकमा माथिल्लो पेटमा पीडा हुन सक्छ किनकि गर्भावस्थामा एपेन्डिक्स मास्तिर सर्छ ।

एपेन्डिक्सको नली रोकिँदा हुने संक्रमण नै एपेन्डिसाइटिसको कारण हुनसक्छ । यस क्रममा ब्याक्टेरिया तीव्र गतिमा बढ्छ र एपेन्डिक्स सुन्निन थाल्छ, फुल्छ र त्यसमा पीप भरिन्छ । तत्कालै उपचार नगरिएमा एपेन्डिक्स फुट्न सक्छ ।

एपेन्डिसाइटिसको उपचार नगर्दा गम्भीर जटिलता आउन सक्छ । एपेन्डिक्स फुटेमा पेटमा संक्रमण हुन सक्छ । त्यसो भएमा तत्कालै शल्यक्रिया गरेर एपेन्डिक्स हटाउनुपर्छ र पेटको क्याभिटी सफा गर्नुपर्छ ।

एपेन्डिक्स फुटेमा पेटमा पीप जमेर संक्रमण हुन सक्छ । यसको उपचारका क्रममा सर्जनले ट्युब लगाएर पीप र फोहर हटाइदिन्छ । ट्युब लगभग दुई हप्तासम्म राखिन्छ र संक्रमण सफा गर्न एन्टीबायोटिक्स दिइन्छ ।

संक्रमण सफा गरेपछि शल्यक्रिया गरेर एपेन्डिक्स हटाइन्छ । कुनै कुनै केसमा पीप फोहर फालेपछि तत्कालै एपेन्डिक्स हटाइन्छ।

किन हुन्छ एपेन्डिसाइटिस ?

एपेन्डिसाइटिसको प्रमुख कारण एपेन्डिक्स अंगको नलीमा हुने संक्रमण, हो । यो पेटमा रहेका परिजीबी हो। फाइबर नभएको खाना खाँदा, लामो समयसम्म कब्जियत भएपछि यो समस्या आउने गर्छ। यसरी लगातार एपेन्डिक्समा लामो समयसम्म रुकावट आउनाले यो सुन्निएर संक्रमण भई फुट्ने अवस्थामा आउँछ। फुट्यो भने पेट र रगतमा संक्रमण फैलाउने संभावना हुन्छ। यसले मानिसको ज्यान जान सक्छ ।

एपेन्डिसाइटिस रोग नभई आकस्मिक अवस्था हो। ट्युवमा कुनै संक्रमण भए पश्चात अचानक ग्याँस्ट्रिकका लक्षणहरु जस्तै महशुश हुने, वाकवाकी लाग्ने, नाइटोको वरीपरि दुख्न, हल्का ज्वरो आउने, वान्ता हुने, जस्ता लक्षणहरु शुरुमा देखापर्छन् । यो बढेर बेस्सरी पेट दुख्ने तथा पेटको तल्लो दायाँ भागमा दुख्ने क्रम बढ्छ ।

अस्पतालमा पुगेपछि के गरिन्छ ?

के कारणले पेट दुखेको हो भन्ने पत्ता लगाउन विभिन्न परिक्षणहरु गरिन्छ । रक्त परिक्षण, युरिन टेष्ट तथा अल्ट्रासाउण्डद्वारा एपेन्डिक्स सुन्निएको मात्र हो या फुटिनै सकेको छ भन्ने पत्ता लगाइन्छ ।

एपेन्डिसाइटिस हुन सक्ने कारण

खानामा फाइबरको कमी भएमा केही भाइरसको सङ्क्रमणले गर्दा एपेन्डिक्सको कोष सुन्निन्छन् र यसरी सुन्निएको कोषमा ब्याक्टेरियाजस्तै अक्सयुरियस भरमिकुलारिस, ई कोलाई इन्टेरोकोकाई आदिले गएर थप सङ्क्रमण गराउदँछन् अनि एपेन्डिसाइटिस हुन्छ । एपेन्डिक्स ठूलो आन्द्रासँग सीधै जोडिएको हुनाले कहिलेकाँही ठूलो आन्द्रामा गाँठो पर्दा वा बटारिँदा आन्द्रामा रहेको दिशा फर्केर आई एपेन्डिक्समा पसेर एपेन्डिक्सको सङ्क्रमण गराउन सक्दछ । एपेन्डिक्समा जुका आएर पनि एपेन्डिसाइटिस गराउन सक्दछन् जुन प्रमुख कारणमध्ये एक हो । कब्जियतका बिरामीले दिशा खुुकुलो बनाउने औषधिको अत्यधिक प्रयोग गरेमा पनि एपेन्डिसाइटिस हुन सक्छ ।

माथिका कुनै पनि कारणले गर्दा एपेन्डिक्सको मुख बन्द भएमा त्यसभित्र रहेका जमेका फोहोरको कारणले गर्दा त्यहाँको चापमा वृद्धि हुन जान्छ । चापमा भएको बृद्धिले गर्दा एपेन्डिक्सको रक्त सञ्चारमा कमी आउँदछ । रगतको प्रवाह नै कम भएपछि एपेन्डिक्सका कोष झन् ठूलो हुँदै आफ्नो आकारमा वृद्धि गर्न थाल्दछन् । जसले गर्दा रगत प्रवाह गर्ने नलीमा क्षति पुग्न गई पूरै रक्त सञ्चार बन्द हुन्छ र एपेन्डिक्सका कोषमा घाउ लाग्दछ अनि विस्तारै कुहिन सुरु गर्दछन् ।

खास खास लक्षणहरू:

सुरुमा नाइटोको वरिपरि दुख्न सुरु गर्छ । दुखाइ विस्तारै सर्दै गएर एक-दुई घण्टाको फरकमै कम्मरको दाहिने पट्टीतिर पुग्दछ । विस्तारै पाँच-छ घण्टामा पेट पूरै दुख्न थाल्छ र पछि गएर नाइटोदेखि मुनि कम्मरको दाहिनेतिर कोखामा र कोखाभन्दा मुनि छुदैमा पनि दुख्ने हुन्छ । जति समय बित्दै गयो त्यति नै दुखाइको मात्रा बढ्दै जान्छ। वाक्वाकी लाग्ने, वान्ता आउने हुन्छ, ज्वरो सुरुमा हलुका आउँछ र पछि बढेर जान्छ, मुटुको धड्कनको गति बढ्छ, सास गन्हाउन थाल्छ, सुन्निएको एपेन्डिक्सले पिसावको थैलीमा तनाव उत्पन्न गर्ने भएकाले छिटोछिटो र छोटो छोटो पिसाव आउँछ ।

  • देब्रे कोखामा थिच्दा पनि दाहिने कोखा र त्योभन्दा तलतिर दुख्छ।
  • सुतिरहेको बिरामीले घुँडा नखुम्चाइकन खुट्टा उचाल्दा दाहिने कोखा र त्योभन्दा तलतिर दुखाइको अनुभव हुन्छ।
  • दाहिने खुट्टालाई नखुम्चाइकन पछाडि लग्दा दाहिने कोखा र त्योभन्दा मुनि दख्छ ।

उपचारः

शल्यक्रिया गरेर एपेन्डिक्सलाई निकाल्नेबाहेक यसको अर्को विकल्प छैन । एपेन्डिसाइटिसको समयमै उपचार गरिएन भने यसले हाम्रो पेटमा रहेको आमाशय सानो आन्द्रा र ठूलो आन्द्रालगायतलाई ढाकेर राख्ने तन्तुको एक तह जसलाई पेरिटोनियम भनिन्छ, त्यसलाई फुटाइदिन सक्छ । यदि त्यस्तो भएमा सङ्क्रमण शरीरभरि फैलिएर अवस्था चिन्ताजनक पनि बनाउन सक्छ ।
तर शल्यक्रियाको पनि आफ्नै समस्या छन् । ठूलो आन्द्राको प्यारालाइसिस हुन सक्छ । जसले गर्दा खाना नपच्ने समस्या हुन्छ । त्यस्तै, सिलाइएको टाका नमिलेर र राम्ररी नकस्सिएर रक्तस्रावको पनि सम्भावना रहन्छ । शरीरमा कुनै प्रभावी काम नभएको र जुनसुकै उमेरमा अनि जुनसुकै समयमा पनि एपेन्डिक्सले दुःख दिने भएकाले अरू कुनै समस्याको कारणले गर्दा पेटको शल्यक्रिया गर्नु परेको छ भने धेरै शल्यचिकित्सकले बिरामी वा आफन्तको अनुमति लिएर एपेन्डिक्सलाई फालिदिने गरेका छन् ।

नेपालका अग्रणि शल्य चिकित्सक डा. मुडवरी काठमाडौं चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा आवद्ध हुनुहुन्छ ।


ताजा खबर