संक्रमणबाट सम्हालिदै न्यूयोर्क : १०९ दिन पछि घट्यो मृत्यु दर

कोभिड-१९ महामारीका कारण एकै दिन हजार जना भन्दा बढीको मृत्यु हुनेगरेको अमेरिकाको न्यूयोर्कमा भाइरस संक्रमित र मृत्यु हुनेको संख्यामा निकै कमि आएको छ ।

दुई महिना अघी पहिलो संक्रमित भेटिए यता पहिलोपटक न्यूयोर्कमा दैनिक मृत्यु हुनेको संख्या एक शय भन्दा तल झरेको छ । जोन्स होप्किन्स विश्वविद्यालयका अनुसार गएको २४ घण्टामा त्यहाँ ८४ जनाले मात्रै ज्यान गुमाएका छन् । संक्रमणको १०९ दिनमा न्यूयोर्कमा २८ हजार जना भन्दाको मृत्यु भइसकेको छ ।

तर विगतको तुलनामा न्यूयोर्क शहर सम्हालिदै गएको त्यहाँका गभर्नरले बताउनुभएको छ । अझैपनि धेरैको ज्यान गइरहेको तर न्यूयोर्क अब विस्तारै संक्रमणमुक्त हुने बाटोमा रहेको राज्यका गभर्नरको भनाइ छ । मृत्युहुनेको संख्या घटेसंगै त्यहाँ आवश्यक परेमा १० जना सम्मको समूहमा भेला हुन अनुमति दिइएको छ ।

कोरोना महामारीबाट अमेरिकामा विश्वमै धेरै ९८ हजारको मृत्यु भएको छ । त्यहाँ  झण्डै साढे १६ लाख मानिसहरु संक्रमित भएका छन् ।

भाइरसको संक्रमणबाट बेलायतमा दोस्रो धेरै संख्यामा मानवीय क्षति भएको छ । त्यहाँ ३६ हजार ७ शय भन्दा बढीको मृत्यु भएको छ भने २ लाख ५८ हजार जनामा संक्रमण पुष्टि भएको छ ।

इटलीमा ३२ हजार ७ शय बढीको ज्यान गइसकेको छ भने स्पेन र फ्रान्समा २८ हजार बढीको मृत्यु भएको छ । यूरोपमा पनि भाइरसको प्रभाव घट्दै गइरहेको छ ।

तर दक्षिण अमेरिकी मुलुकहरुमा भने भाइरसको प्रभाव बलियो देखिएको छ । ब्रजिलमा ३ लाख ३० हजार बढी संक्रमित छन् भने २१ हजार जनाको मृत्यु भइसकेको छ । पेरु र इक्वेडरमा पनि ३ हजार जना भन्दा बढीको मृत्यु भएको छ ।

विश्वभरी ३ लाख ४३ हजार बढीको मृत्यु भएको छ भने २२ लाख ४४ हजारलाई भने निको भएको छ ।

यसैबीच थाइल्याण्डमा कोभिड-१९ विरुद्धको खोपको बाँदरमा परीक्षण गरिएको छ । थाइ वैज्ञानिकहरुले १३ वटा लामो पुच्छर भएका मकाक बाँदरमा खोपको परीक्षण गरेका छन् । तीन महिनाको फरकमा दुई पटक खोप दिएर त्यसको परीक्षण गरिने अनुसन्धानकर्ता बैज्ञानिकहरुले बताएका छन् । रोयटर्स


ताजा खबर