संविधान संशोधन विधेयक सङ्घीय संसदमा दर्ता

सरकारले संविधान संशोधन गर्न बनेको विधेयक आज सङ्घीय संसद्मा दर्ता गरेको छ ।

मन्त्रिपरिषद्को निर्णय अनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङफेले संविधानको अनुसूची तीनको निशान छाप भित्र अङ्कित नेपालको नक्सालाई नेपालको वास्तविक सीमा अनुरूप मिलाउन संविधान संशोधन विधेयक संसद्मा दर्ता गराउनु भएको हो ।

मन्त्रिपरिषद्को आजै बसेको बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर हालै जारी गरेको नयाँ नक्सा अनुसार संविधानको अनुसूची-३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधन गर्ने निर्णय गरेको थियो ।

नेपालको संविधानको धारा ९ को उपधारा (२) मा नेपालको निशान छाप अनुसूची तीनमा उल्लेख भए बमोजिम हुने व्यवस्था भए अनुरूप नेपाल सरकारले हालै जारी गरेको वास्तविक सीमा अनुरूप नक्सालाई नेपालको वास्तविक सीमा अनुरूप मिलाउन आवश्यक भएकोले नेपालको संविधानको अनुसूची तीनमा संशोधन गर्ने प्रयोजनको लागि संशोधन विधेयक पेस गरिएको कानूनमन्त्री शिवमाया तुम्बाहाङफे दर्ता गर्नु भएको विधेयकमा भनिएको छ । रासस


ताजा खबर