कोरोना संक्रमितको संख्या ५० लाख नाघ्यो

कोरोनाभाइरस कोभिड-१९का कारण संक्रमित हुनेको संख्या ५० लाख नाघेको छ । अमेरिका स्थित जोन्स हप्किन्स विश्वविद्यालयकाअनुसार भाइरसबाट विश्वभर ५० लाख ९७ हजार भन्दा बढी संक्रमित भएका छन् । महामारीबाट ३ लाख ३२ हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । विश्वविद्यालयका अनुसार विश्वभर २४ घण्टाको अवधिमा एक लाख ४७४ जना नयाँ संक्रमित थपिएका छन् । विगत २४ घण्टामा विश्वभर ४ हजार ६८५ जनाको ज्यान गएको छ । संक्रमित र मृत्यु हुनेहरुको यो संख्या विगत महिनाको तुलनामा निकै कम हो ।

तर भ्याक्सिन बनिनसकेको महामारी नियन्त्रण भन्दा अझै कोसौ पर रहेको छ । तथ्याङ्क अनुसार विश्वभर करिब ४५ हजार ७९६ जनाको स्वास्थ्य अवस्था अत्यन्त जटिल रहेको छ भने २६ लाख ९० हजारको स्वास्थ्य अवस्था सामान्य वा मध्यम छ ।

अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ । विश्वमै धेरै संक्रमित र मृत्यु रहेको अमेरिकामा ९४ हजार ६६१ जनाले ज्यान गुमाइसकेका छन् । त्यहाँ १५ लाख ७६ हजार भन्दा बढी संक्रमित भएका छन् ।

युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३६ हजार १२४ जनाको मृत्यु भइसकेको छ । कोरोनाभाइरसबाट सर्वाधिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्स लगायतका मुलुकमा मृतकको संख्या ३० हजारको हाराहारीमा छ ।

दक्षिण अमेरिकी देशहरुमध्ये कोरोनाभाइरसको केन्द्रविन्दूका रुपमा देखिएको ब्राजिलमा २० हजार बढीको मृत्यु भएको छ । इरानमा ७ हजार २४९, मेक्सिकोमा ६ हजार ९०, क्यानाडामा ६ हजार जनाको मृत्यु भइसकेको छ । रोयटर्स


ताजा खबर