बिचरो मन्त्री

  • बद्रीप्रसाद दाहाल (भस्मासुर)

मन्त्राणी जति छन् धनाढ्य अहिले , मन्त्री सबै निम्छरा ।
पेवापात दहेज टन्न घरमा , अर्धाङ्गिनी अप्सरा ।।
के भन्नू बिचरा ? कठै गरिप छौ , हाै भाग्यहारा तिमी ?
लक्ष्मीकै वरदानले खरबका , स्वामी बनेछौ तिमी ।।

चिल्ला कार नयाँ -नयाँ महल छन् , उद्योग छन् स्रोत छन् ।
धेरै बैँक र बित्तका निगममा , साली- स्वसा ओत छन् ।।
सिन्को सम्पति छैन क्यै पनि अहाे ! हाै सर्वहारा तिमी ।
सासू औ ससुरा सुता सुत धनी , हा वित्तहारा तिमी ।।

जो सन्तान थिए पुगे पर पुगे , सम्पत्ति पैसा लगे ।
देख्दा टाट तिमी गरीब विचरो , क्यै छैन क्यै छैन रे ।।
छाला ओड्दछ बाघको जतनले , बठ्याइँमा स्यालले ।
त्यस्तै धूर्त सिकारमा मुलुक नै , चल्दैछ ख्याल्ख्यालले ।।

धाेबीकाे रङले विशिष्ट हुन गै, छक्याउँने जम्बुक।
स्यालैकाे उजुरी परेर उहिले, पारेछ सिंहै मुख ।।
पत्ता लाग्दछ स्यालकै सुत भनी , सिध्दिन्छ तिम्रा दिन ।
छट्टू हाे अब धाक छाेड दुनियाँ , झुक्किन्न है छिन्छिन ।।

 


ताजा खबर