नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित देश

महाकवि लक्ष्मीप्रसाद देवकोटा गरिव थिएनन्

  • नगेन्द्रराज शर्मा

छोराको साथी, साथीको छोरा । महाकवि लक्ष्मीप्रसाद देवकोटासँग यस्तो दोहोरो सम्बन्ध रह्यो मेरो । ६ फुट अग्ला, मोटाघाटा अनि फराकिलो अनुहारका कारण देवकोटा झट्ट हेर्दा कुनै बक्सर या रेस्लरजस्ता देखिन्थे । त्यो जायन्ट पर्सनालिटी ! मलाई अद्यापि दिव्य र भव्य लाग्छ ।

मेरा पिता इन्द्रप्रसाद घिमिरेले मैतीदेवी फाँटमा घर बनाए विसं २००० तिर । हामी नजानिँदो किसिमले देवकोटाको छिमेकी भयौँ । म कवि काकाहरू हृदयराज शर्मा, भरतराज मन्थलीयका साथमा बस्थेँ त्यतिबेला । जीवनका १५ वर्ष त्यहीँ बित्यो मेरो । देवकोटाको बाक्लै आवतजावत हुन्थ्यो घरमा । उनलाई बडो सम्मानसाथ देवकोटा बाजे या साहिँला बाजे भन्थ्यौँ हामी ।

साहित्यिक जमघट भइरहन्थ्यो घरमा । देवकोटासहित डिल्लीबजारका प्रकाशबहादुर केसी, नरसिंहबहादुर श्रेष्ठ, लोकबहादुर श्रेष्ठ, हरिहरनाथ रेग्मी, कल्याण रेग्मीका साथै यदाकदा चन्द्रधर उप्रेती, डिल्लीराज उप्रेती, साम्बभक्त सुवेदी, सोमनाथ शर्मा घिमिरे ‘व्यास’, कुलचन्द्र कोइरालाहरूको पनि हाजिरी हुन्थ्यो । देवकोटाका छोराछोरी प्रकाश, कृष्ण, अम्बिका, मीरा अनि म बालश्रोता हुन्थ्यौँ ।

देवकोटाजस्ता भद्रभलादमी मैले अहिलेसम्म भेटेको छैन । उनी साहित्य लेख्न बस्दा छोराछोरी काँधमा चढ्थे । म पनि उनीहरूसँगै काँधमा चढ्थे । देवकोटा सम्झाउँथे, ‘यसो नगर न बाबु ।’ गौप्राणी भने हुन्छ उनलाई । कुनै दोष नभएका ऋषितुल्य । उनी कहिल्यै रिसाएनन्, झर्किएनन् । कसैको चित्त दुखाएनन् । कसैलाई दुर्वाच्य बोलेनन् । अम्बिका, मीरा र म देवकोटाको बालकविता ‘आऊ पुतली’ गाएर नाच्थ्यौँ घरमा ।

पारिवारिक इतिहास अलि दु:खद् रह्यो देवकोटाको । जेठी छोरी सावित्रीको दुई वर्षमै निधन भयो । ००४ सालमा हर्ट फेल भएर जेठा छोरा प्रकाश बिते, माइला छोरा कृष्ण ००९ सालमा टाइफाइड भएर गए । म त झन्डै साथीविहीन भएँ । त्यतिबेला पद् मप्रसाद र अमेरिकातिर डाक्टरी गर्ने अर्का छोरा जन्मिसकेका थिएनन् ।

देवकोटाको डेढ/दुई रोपनी कम्पाउन्डमा तीनतले बंगला थियो सुरुमा । पछि डेढ/दुई रोपनी थपेर चार रोपनीको कम्पाउन्ड बनाए, चौथो तला थपे । त्यो घर ०७२ को भुइँचालोमा पनि ढलेनछ, सामान्य चर्किएछ मात्रै ।

उनको घरमा जहिल्यै भोजजस्तो हुन्थ्यो । भान्से बाहुनी नै दुई जना थिए, अरू नोकरचाकर पनि थिए । भोज किन भनेको भने भान्सामा अटुट खसीको मासु पाक्ने । खेतको आलीआली साइकल डोर्‍याउँदै घर आएपछि पत्नी मनदेवीलाई देवकोटा सोध्थे, “के पकायौ बज्यै ?”
“मासु ल्याए भैहाल्यो नि !”

साथीहरुसँग डिल्लीबजारमा महाकवि लक्षमीप्रसाद देवकोटा

अनि त देवकोटा म नभए कृष्णलाई, कृष्ण नभए मलाई बिसौली या धार्नी मासु लिन पठाइहाल्थे । त्यसरी मासु र चुरोट लिन म पचासौँपटक खेताला गएको छु । साहिँला बाजेले पठाएको भनेपछि जति पनि उधारो दिन्थे । मासु पनि ह्याकुला नै ।

अक्सर दौरा–सुरुवाल, टोपी र नीलो कोटमा ठाँटिएको देखिन्थ्यो देवकोटालाई । कोट पनि चानेचुने होइन, बेलायती (इङ्लिस ट्वीड) कस्मिराको । जाडोमा पनि बेलायती कस्मिराकै ओभरकोट । त्यो जमानामा त्यो कोटको ४० रुपियाँ पथ्र्यो भने सिलिस्किन टोपीको ३० रुपियाँ ।

त्यतिबेला साइकल भनेको हिजोआज कार बराबर हो । एक दिन उनी लुरुलुरु हिँड्दै आए । कसैले सोध्यो, “साइकल खोइ त साहिँला बाजे ?” उनले चुरोटको सर्को तान्दै भने, “साइकल त हरायो ।” त्यतिखेर साइकल चोरिएको कतै सुनिँदैनथ्यो । साइकल चलाउने बाटो पनि थिएन । पक्की सडक भनेको सिंहदरबारदेखि भद्रकाली अनि न्युरोड गेटदेखि जुद्धसालिकसम्म मात्रै हो ।

देवकोटाले साइकल राखेको ठाउँ बिर्से या साँच्चै चोरियो ? दुईचार दिनमै नयाँ साइकल किने, त्यो पनि टलक्क टल्किने बेलायती र्‍याले कम्पनीको । त्यो काठमाडौँमा पाइने सबभन्दा महँगो साइकल हो त्यतिबेला ।

त्रि–चन्द्र कलेज र नेपाली भाषा प्रकाशिनी समितिमा जागिर थियो उनको । जागिरको समयबाहेक अंग्रेजीको ट्युसन पढाउँथे । झिसमिसे बिहानदेखि बेलुकी तोप चल्ने बेला नभएसम्म । इच्छा नहुँदानहुँदै ट्युसन पढाउनु पथ्र्यो उनले । ट्युसन पढाउने पनि सर्वसाधारणका होइन, राणाका छोराछोरीलाई ।

उनीहरू देवकोटाको गोजीमै जबर्जस्ती मोहर हालिदिन्थे । दुईचार बट्टा फुलमार, मोटरमार दिन्थे । १९ जना राणाका छोराछोरीकहाँ ‘ होम ट्युसन’ थियो उनको । सरकारी मीर सुब्बा हाकिमले वार्षिक १ हजार २ सय तलब पाउने बेलामा देवकोटाको महिनाकै कमाइ १ हजार ५ सय थियो ।

‘जब म बीए भएँ, तब दिनको १३ घन्टा ट्युसन गर्न लागेँ । कमाउनुपर्छ, अंग्रेजीमा पढाउनुपर्छ, मास्टर बन्नुपर्छ–को मधुरो गाँजा साइकल चढाएर सहर र पुछार घुमाउँथ्यो,’ ‘हाइ हाइ अंग्रेजी’मा देवकोटाले लेखेकै छन् ।

देवकोटालाई थुप्रै छोटेमोटे विद्वान्ले मनमौजी रूपमा महामानव, मानवतावादी, अध्यात्मवादी, प्रजातन्त्रवादी, वामपन्थी आदिइत्यादि बनाएका छन् । मैले किनाराको साक्षीजस्तो भएर सुनेको छु, पढेको छु । सबभन्दा उदेकलाग्दो त के भने देवकोटा गरिब/दरिद्र थिए भनेर पनि लेखेकै छन्, बोलेकै छन् । अझै तिनै शब्दमा पिङ मच्चाइरहेका छन् यत्रतत्र सर्वत्र । अज्ञानतावश, लहैलहैमा भनेका हुन् या षड्यन्त्रको तानाबाना पनि छ यसमा ?

देवकोटा किमार्थ दरिद्र होइनन्, गरिब थिएनन् । उनी त सुसम्पन्न कुलघरानाका हुन् । पहिलो कुरा त उनले भारतको पटना र कोलकाताबाट उच्च शिक्षा हासिल गरे । राणाकालमा गरिबका छोराले पटना र कोलकाता बसेर पढ्न सम्भव छ ? त्यसपछि पैतृक सम्पत्तिबाट बराबर अंश पाएका चार दाजुभाइ लेखनाथ, मित्रनाथ, गोपीमाधव र मधुसूदन कोही गरिब थिएनन् भने उनीमात्र गरिब कसरी हुन्छन् ?

पैसा उडाउने खालका कुनै कुलत थिएनन् उनका । जुवातास नखेल्ने, जाँडरक्सी छुँदै नछुने । त्यसो त बाहुनले जाँड खाने चलन पनि थिएन । देवकोटाले शिक्षामन्त्री भएका बेला या विदेश गएका बेला खाएको भए म जान्दिनँ । एकपटक केशरशमशेरले देवकोटा, मातृकाप्रसाद कोइराला, ईश्वर बराललगायत लेखकलाई रक्सी अफर गरेछन् । लेखकहरूले भनेछन्, ‘हामी त नखाने राजा ।’ केशरशमशेरले भनेछन्, ‘नखाए पनि मुख कुल्ला गरिदिनोस् न ।’

देवकोटाको ‘चेन स्मोकर’ छवि सर्वविदितै छ । उनी त्यस बेला प्रचलित मोटरमार र फूलमार चुरोटका धुवाँ ननस्टप उडाउँथे । एउटा सकिएपछि अर्को सल्काइहाल्ने । तलतल कस्तो भने कहिलेकाहीँ निभाएको ठुटो पनि छाड्दैनथे । शुद्धी हराएको भन्ने कि के भन्ने ? ‘साहिँला बाजे औँला डढ्यो’ भनेपछि मात्र थाहा पाउने । उनका दाहिने हातका चोर र माझी औँला डढेका थिए । सुकेको घाउजस्तो देखिन्थ्यो ।

सर्वविदित नभएको प्रसंग के भने देवकोटा त्यसबेलाको बासनादार निकै महँगो क्याप्स्टेन चुरोटसमेत खान्थे । २० पैसावाला मोटरमार र फूलमार चुरोट बाबुलालकहाँ लिन्थे भने क्याप्स्टेन चुरोट आशालाल या मागडाको पसलमा । बाबुलालको पसल डिल्लीबजार पीपलबोट अर्थात् हजामको चौतारोमुनि थियो । त्यो नाङ्ले पसल त होइन तर त्यसकै नयाँ रूपजस्तो थियो । काठको ठूलो सन्दुसजस्तोमा तिलौरी, पुष्टकारी, पिपरमेन्ट, ल्वाङ–सुपारी, चुरोट, दरिवल (हेर्दा नरिवलजस्तो नरम, खाँदा सुपारीजस्तो दह्रो) आदि राखिएको ।

देवकोटा कति सोखिन भने मीठो खाने, राम्रो लगाउने । उनको आहाराचाहिँ अलि ठूलै हो । उनलाई भजिमने भनेको पनि सुनिन्थ्यो । उनी डिल्लीबजारको लप्टनको होटलमा साइकल डोर्‍याउँदै आउँथे । पसिना पुछेर तीन गिलास पानी घटघट पिउँथे । ००७ सालपछि त्यहाँ एकैपटक दुई, तीनवटा अन्डा खाएको पनि देखियो । उनलाई दुई, तीन चौथाइजति चामलको भात चाहिन्थ्यो ।

शर्मा साहित्यिक पत्रिका ‘अभिव्यक्ति’का संस्थापक सम्पादक हुनुहुन्छ ।

ताजा खबर