गायक नवीन के भट्टराईलाई के मन पर्छ ?

ठाउँ : पहिला–पहिला गीत लेख्न मन लाग्दा सौराहा घुम्न जान्थें । त्यहाँको रमणीय दृश्य अझै पनि मन पर्छ । चितवनको यो ठाउँले मेरो मन मजैले छोएको छ ।

परिकार: नेपाली परिकार नै टेस्टी र हेल्दी दुवै लाग्छ । दाल, भात, तरकारी, अचार अनि साग । नेपाली खानामा सबै पौष्टिक आहारको मिश्रण भएको पाउँछु ।

पेय पदार्थ: साथीभाइसँग भेटेका बेला चिया गफभन्दा बियर गफ गर्न रमाइलो लाग्छ । चिसो हुने हुँदा गर्मी मौसममा अझै खान मन पर्छ । बियर मन पर्ने पेय पदार्थ हो मेरा लागि ।

पुस्तक: हारोल्ड रोबिन्सको ‘कार्पेटब्यागर्स’ अहिलेसम्म मेरो मन छोएको पुस्तक हो । उनले लेखेका अरू कृति पनि पढेको छु । उनको लेखन शैलीबाट म अत्यन्त प्रभावित भएको छु ।

लेखक: अहिलेसम्म अमेरिकन लेखक सिड्नी सेल्डोन मन परिरहेका छन् । उनले छनोट गर्ने कथावस्तु युनिक र कलात्मक हुन्छन् ।

गीत: गीत धेरै सुन्छु । दुइटा गीत धेरै मन पर्छन् । अंग्रेजीमा पिङ फ्लोएड ब्यान्डको ‘टाइम…’ र नेपालीमा सुरेश कुमारको ‘यो जुनीमा…’ । यी गीत सुनेको सुन्यै गरिरहुँ लाग्छन् ।

गायक/गायिका: गायकमा जोन लेनोनको स्वर मीठो लाग्छ । गायिकामा चाहिँ सपनाश्री । सपनाश्रीका पुराना गीत म अझै पनि सुन्ने गर्छु ।

फिल्म: ‘ब्लाइंक’ मुभीको स्टोरीले मन छोएको थियो ।

अभिनेता/अभिनेत्री: आर्टिस्टिक दृष्टिले मलाई बलिउड अभिनेता अमिताभ बच्चन राम्रा लाग्छन् । अभिनेत्रीमा चाहिँ कसैले पनि अहिलेसम्म मेरो मन छोएका छैनन् । भन्नै पर्दा केट विन्स्लेटको अभिनय मन पर्छ ।

ग्याजेट: कार्यक्रम नभएका बेला प्राय: युट्युब हेरेर फुर्सदिलो समय सदुपयोग गर्न मन पराउँछु । त्यसैले ल्यापटप धेरैजसो मसँगै हुन्छ । मोबाइलमा युट्युब हेर्दा चित्त बुझ्दैन ।

 


ताजा खबर