बेल्जियम बन्यो युरो कप २०२० का लागि छनोट हुने पहिलो टोली

सन मारिनोमाथि ९–० को शानदार जित निकालेको बेल्जियम युरो २०२० का लागि छनोट हुने पहिलो टोली बनेको छ। जितसँगै रोबर्टो मार्टिनेजको टोलीको समूह ‘आई’ मा तेस्रो स्थानको साइप्रससँग ११ अंकको अग्रता बनाएको छ।

बेल्जियमले पहिलो हाफमा ६–० को अग्रता लिएको थियो। पहिलो हाफमा बेल्जियमका लागि इन्टर मिलानका फरवार्ड रोमेलो लुकाकुले दुई तथा नासेर चाड्ली, टोबे एल्डरविर्ड र युरी टेलिमान्सले एक एक गोल गरे। बेल्जियमले अर्को आत्मघाती गोल उपहार पाएको थियो। दोस्रो हाफमा क्रिष्टियन बेन्टेके, यारी भर्सचेरिन र टिमोथी कास्टग्नीले थप १–१ गोल गरेपछि बेल्जियमले सहज नतिजा निकालेको हो।

यससँगै लुकाकुले अन्तर्राष्ट्रिय खेलमा ५१ गोल गरेका छन्। बेल्जियमबाट ५० गोल गर्ने पहिलो खेलाडी हुन्। लुकाकु यसै सिजन प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेडबाट इटालियन सिरी ‘ए’ क्लब इन्टर मिलान गएका थिए। उनले इन्टरबाट १० खेलमा ६ गोल गरिसकेका छन्।

समूह आई बाट बेल्जियसँगै रसियाले पनि युरो कपमा छनोट हुने सम्भावना छ। स्कटल्यान्डमाथि ४–० को नतिजा निकालेको रसियाले तेस्रो स्थानको साइप्रसलाई ८ अंकले पछि पारेको छ।


ताजा खबर