रक्तचाप अनियन्त्रित भएपछि महरालाई अस्पताल लगियो

बलात्कार प्रयासको आरोपमा पक्राउ परेका प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महरालाई अस्पताल पुर्‍याइएको छ ।

प्रहरीका अनुसार महराको रक्तचाप एक्कासी उच्च हुने र फेरि न्यून हुने समस्या देखिएपछि नर्भिक अस्पताल लगिएको हो ।

अनियन्त्रित रक्तचापले स्वासप्रश्वासमा समस्या देखिएपछि महानगरीय प्रहरी वृत सिंहरदबारको हिरासतमा रहेका महरालाई अक्सिजन दिएर राखिएको थियो । तर, स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि अस्पताल पुर्‍याइएको हो ।

“रक्तचाप घटबढ हुने समस्या नियन्त्रणमा आएन”, महानगरी प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले भने, “उहाँले अस्पताल भर्ना हुन मानिरहनु भएको छैन । अक्सिजन दिएर राख्नु परिरहेको छ। हामी आफैले जोड गरेर अस्पताल पुर्‍याइएका हौं ।”

महरा १९ असोजमा पक्राउ परेका थिए।

१२ असोजमा संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीको निवासमा पुगेर बलात्कारको प्रयास गरेको आरोप लागेपछि महराले १४ असोजमा सभामुख पदबाट राजीनामा दिएका थिए। महिलाले १७ असोजमा महराविरुद्ध बलात्कार प्रयास गरेको भन्दै किटानी जाहेरी दिएकी थिइन् ।

उनको किटानी जाहेरीपछि १९ असोजमा काठमाडौं जिल्ला अदालतले उनलाई पक्राउ गर्न अनुमति दिएपछि प्रहरीले पक्राउ गरेको थियो । २८ असोजमा अदालत खुलेपछि मात्र महराको बयान लिने र आवश्यक कारबाही प्रक्रिया अघि बढ्ने प्रहरीले जनाएको छ ।


ताजा खबर