संघीय संसदमा सविनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत

संघीय संसदमा आगामी ‘आर्थिक वर्ष २०७७/०७८ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत भएको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको आज बसेको छुट्टाछुट्टै बैठकमा प्रस्ताव प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री डा.युवराज खतिवडाले कोरोनाबाट अर्थतन्त्रमा परेको प्रभावलाई न्यूनीकरण गर्दै आर्थिक विकास, सुशासन तथा समृद्धिको मार्गलाई अगाडि बढाउने गरी आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।

अर्थमन्त्री डा. खतिवडाले संविधानले प्रत्याभूत गरेको लोकतान्त्रिक मूल्य मान्यता, समाजवाद उन्मुख अर्थतन्त्रका प्रमुख आधारका रुपमा रहेको सार्वजनिक, निजी, सहकारीका माध्यमबाट सामाजिक न्याय स्थापना गर्दै समृद्ध अर्थतन्त्र निर्माण गर्ने तर्फ बजेट केन्द्रित गरिने जानकारी दिनुभयो ।

संविधानप्रदत्त नागरिकको मौलिक हक कार्यान्वयन गर्दै विकास, सुशासन, र समृद्धिको यात्रामा प्राप्त भएका उपलब्धी तथा नागरिकलाई गुणस्तरीय एवम् प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्नेतर्फ सरकारले विशेष ध्यान दिने अर्थमन्त्री डा. खतिवडाले उल्लेख गर्नुभयो ।

अर्थमन्त्री डा. खतिवडाले भविष्यमा आउन सक्ने विपदसँग जुध्न सबल स्वास्थ्य संस्थाको स्थापनालाई केन्द्रमा राखेर कोरानाले पारेको प्रभाव न्युन गर्दै अर्थतन्त्रलाई थप गतिशिल बनाउन बजेट प्रभावकारी रुपमा परिचालन गर्ने लक्ष्य राखिएको स्पष्ट पार्नुभयो ।

अर्थमन्त्री डा. खतिवडाले कोरोना नियन्त्रणका क्रममा प्राप्त भएको अन्तराष्ट्रिय ऐक्यवद्धालाई उपयोग गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्रोत साधन उपयोग गर्दै निजी क्षेत्रलाई समेत मौद्रिक उपकरण तथा राहतका विभिन्न प्याकेज मार्फत समस्याको समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

आर्थिक वर्ष २०७७/०७८ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफल भोली र पर्सीे गर्ने कार्यसूची तय गरिएको छ ।

प्रतिनिधिसभाको अर्को बैठक भोली बिहान ११ बजे बस्नेछ ।

राष्ट्रिय सभाको बैठकमा आर्थिक वर्ष २०७७/०७८ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफल आजैबाट प्रारम्भ भएको छ ।

पूर्वबजेट छलफलमा भाग लिदै सांसदहरुले वजेट तत्काल लागु हुने र नागरिकलाई प्रत्यक्ष प्रभाव पार्ने विषय भएकाले बजेट कार्यान्वयनको शुनिश्चितता गराउन जनताको सहभागीता बढाउन आवश्यक रहेको बताउनु भयो ।

सांसदहरुले जनतालाई राहत दिने र स्वास्थ्य क्षेत्रमा विद्यमान प्रणाली नै परिवर्तन गर्नेगरी योजना आउनु पर्नेमा जोड दिनु भयो ।

देशको भौगोलिक र जनसाङ्ख्यिक बनोटलाई ध्यान दिनु पर्ने, स्वरोजगार र आयमुलक कार्यक्रलाई प्राथमिकतामा राख्नु पर्ने, भ्रष्टाचार नियन्त्रण, सहकार्य र समन्यमा जोड दिनु पर्ने, कृषक र कृषि क्षेत्रलाई प्राथमिकता दिनुका साथै शिक्षामा सरकारी लगानी बढाउनु पर्नेमा समेत सांसदहरुले जोड दिनुभयो ।

राष्ट्रिय सभाको अर्को बैठक भोली बिहान ११ बजे बस्नेछ । रासस


ताजा खबर