चिनियाँ राष्ट्रपतिको भ्रमणमा आर्थिक साझेदारी र केरुङ–काठमाडौँ रेलमार्गको लगानीको ढाँचाबारे छलफल हुने

प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिनफिङको भ्रमणको पूर्वसन्ध्यामा आज पूर्व प्रधानमान्त्री, पूर्व परराष्ट्रमन्त्री एवं आर्थिक र परराष्ट्र मामिलाका जानकारसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका छन्।

प्रधानमन्त्री ओलीले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर चीनसँग आर्थिक साझेदारीका विषयमा छलफल हुने बताउँदै केरुङ–काठमाडौँ रेलमार्ग निर्माणको लगानीको ढाँचाबारेमा समेत छलफल गरिने जानकारी दिए। प्रधानमन्त्री ओलीले भने, ‘हामी दीर्घकालीन हित र आवश्यकताका विषयमा पनि चीनसँग छलफल गर्छौं तर तत्कालीन आवश्यकता र सहकार्यका विषयलाई पनि उत्तिकै महत्व दिन चाहन्छौँ।’

प्रधानमन्त्री ओलीले विदेश मामिलामा नेपालको नीतिमा अहिले सबैभन्दा स्पष्टता भएको पनि बताए। विदेश तथा छिमेक मामिला सम्बन्धी नीतिमा नेपालले सन्तुलनका तीन आधार तय गरेर अघि बढेको प्रधानमन्त्रीले बताए। ‘राष्ट्रिय हित, सम्बन्धको न्यायोचितता र अन्तर्राष्ट्रिय विश्वसनीयता हाम्रो परराष्ट्र मामिलाको सन्तुलनका आधार हुन्,’ प्रधानमन्त्री ओलीले भने, ‘विदेश मामिलामा हामी अहिले इतिहासकै सबैभन्दा बढी स्पष्टताका साथ अघि बढेका छौं, कुनै अस्पष्टता छैन।’

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिनियाँ राष्ट्रपति सीको भ्रमण नेपालका लागि महत्वपूर्ण अवसर भएको बताउँदै भ्रमणको सफलताको कामना गरे।

चिनियाँ राष्ट्रपति सीले यही असोज २५ र २६ गते नेपाल भ्रमण गर्दै छन्।

छलफलमा सरकारको तर्फबाट चिनियाँ राष्ट्रपति सीको भ्रमणका लागि हालसम्म भएको तयारीबारे जानकारी दिइएको थियो। सहभागी नेता एवं विज्ञहरुले लामो समयपछि चिनियाँ राष्ट्रपति स्तरबाट हुन लागेको भ्रमण ऐतिहासिक र सफल हुने अपेक्षा व्यक्त गर्दै मुलुकको हित र आवश्यकतालाई ध्यान दिएर सन्धि, सम्झौता गर्न सुझाव दिएका थिए। नेता र विज्ञहरुको सुझावपछि प्रधानमन्त्री ओलीले नेपाल र चीनबीच लामो समयदेखि असल, प्रगाढ र छिमेकीको सम्बन्ध रहँदै आएकाले यस भ्रमणले दुई देशबीचको मैत्री सम्बन्धलाई अझै उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे।

छलफलमा पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीलगायतले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणका विषयमा सुझाव दिएका थिए।


ताजा खबर