रेडियो नेपालमा गीत गाउने पहिलो गायिका रानुदेवीको निधन

नेपाली नेपाली
अघि बढौँ हातमा क्रान्ति झण्डा लिई
क्रान्ति झण्डा लिइ
हे नेपाली आमा बुवा दिदिबहिनी दाजु भाइ
सबै मिली अघि बढौँ काधमा काध मिलाई ।

रेडियो नेपालमा पहिलो पटक ‘लाइभ’ गाइएको गीत हो यो । राणाशासन अन्त्य गर्नका लागि निर्णयकआन्दोलन चलिरहेका बेला थियो २००७ साल । उत्त गीतमा स्वर दिएकी थिइन् रानुदेवी अधिकारीले । रेडियो नेपालमा गीत गाउने पहिलो गायिका रानुदेवीको बिहीबार राति निधन भएको छ। ८६ वर्षीय अधिकारी अल्जाइमर रोगबाट पीडित थिइन् ।  विराटनगरकी रैथाने रानुदेवी काठमाडौं बत्तिसपुतलीमा कान्छी छोरी अल्पना रेग्मीसँग बस्दै आएकी थिइन् । उनका छोरा र जेठी छोरी अमेरिकामा छन् ।

उनकी छोरी अल्पना रेग्मीका अनुसार बिहीबार रराति खाना खाएर सुतिसकेपछि रानुदेवीलाई सास फेर्न अप्ठ्यारो भएको भयो । उनलाई राति नै सिनामंगलस्थित काडमाडौं मेडिकल कजेल अस्पताल पु¥याइयो । अस्पताल पुगेको केही समयपछि उनले जिवनको अन्तिम सास फेरिन्।

रानुदेवी र क्रान्तिका गीत एक अर्काको पर्याय जस्तै थियो । उनले राणाशासन कालमै गीत गाउन शुरु गरेकी हुन् । तारिणीप्रसाद कोइरालाको आग्रहमा उनले रेडियो नेपालमा ‘लाइभ’ गीत गाएर आन्दोलनकारीको हौसला बढाउने काम गर्थिन् ।  राणाशासनविरुद्धको आन्दोलनमा उनले थुप्रै गीत गाएकी थिइन् ।  सभा सम्मेलनमा पुगेर गीतमार्फत क्रान्तिको लागि आग्रह गरेकी थिइन् । आन्दोलनको एउटा यस्तो समय थियो जताततै रानुदेवीको आवाज घन्कन्थ्यो ।

मेरो मुटुको माझमा कस्को तस्विर, चरी भुर्र उडी घरमा मेरो जाउ, तिमी दुर देशका परदेशी, जुनेली रात हजुर गम्किन्छ बात हजुर, जस्ता मार्मिक गीतहरुमा उनले आवाज दिएकी छिन् । निरकंशु राणा शासनमा पनि आफ्नो ज्यानको पर्वाह नगरी आन्दोलनकारीलाई हौसाउने रानुदेवी एक शसक्त्त र साहसिक गायिका हुन् ।

घरायसी जिम्मेवारीका कारण संगीतलाई धेरै समय दिन भने सकिनन् । ११ वर्षअघि उनले सुमित खड्कासँग जाग नेपाली वोलको गीतमा स्वर दिएकी थिइन् । ७२ वर्षको उमेरमा गाएको यस गीतले उनलाई नेपाली संगीत क्षेत्रमा पुःन चर्चामा ल्याएको थियो। लामो समय गुमनाम बनेकी अधिकारी पुःन सक्रिय बनिन् । केही कार्यक्रमहरुमा पनि गीत गाइन्।

राणाशासनको कठिन समयमा जन्मेर, नेपाली संगीतकै एउटा पहिचान बन्न सफल भइन् रानुदेवी अधिकारी । उनलाई पछिल्लो समय गायनमा सक्रिय बनाएका गायक सुमित खड्का रानुदेवीको मृत्युपछि आफूले अभिभावक गुमाएको बताउछन् । सुमितका अनुसार रानुदेवी पछिल्लो समय निकै थाकेको र गलेको अनुभव गरिरहेकी थिइन् । कुनै सांगीतिक कार्यक्रममा बोलाउदा जान चाहन्नथिन् । ‘म निकै थाकिसकेँ, निकै गलिसकेँ।’ रानुदेवी भन्थिन् ।  आफ्ना गीतको संरक्षण गरिदिने कोही नभएकोमा गुनासो गरिरहने अधिकारीलाई राष्टले पनि उचित सम्मान नदिएको खड्काको गुनासो छ । उनी भन्छन्, ‘ज्यानलाई हत्केलामा राखेर राष्ट निर्माणमा लागेकी रानुदेवीको योगदानको कदर कहीँ कतैपनि भएन।’


ताजा खबर