चिसोमा फल्ने स्याउ झापाका किसानले फलाए

पहाडी तथा हिमाली क्षेत्रको अति चिसो ठाउँमा फल्ने स्याउ तराईको गर्मी भनेर चिनिने झापाको गौरादहमा एक किसानले फलाएका छन्।

गौरादह– २ का किसान भीमबहादुर खड्काले आफ्नै जग्गामा स्याउ फलाएका हुन्। आफ्नो घर छेउमा करीब एक बिघा खेतलाई माटोले पुरेर डाँडो बनाई ड्याङ बनाएर लगाएको स्याउ फलाएको खड्काले बताए।

पहिलोपटक उत्पादित यस वर्षको स्याउ केही बिक्री गर्नसमेत उनी सफल भएका छन्। खड्काले बारीमा दुई सय वटा स्याउका बिरुवा लगाएका छन्। परीक्षणका रूपमा पहिलोपटक स्याउको बिरुवा रोपेर हेर्दा फल लागेपछि उनको परिवारसहित गाउँले पनि दङ्ग परेका छन्।

स्याउको बिरुवा रोप्ने समयमा स्याउ फलेर खान पाइन्छ भन्ने कसैले विश्वास गरेका थिएनन्। बिरुवा रोपेको एक वर्षपछि फल फल्ने विश्वास गरेपनि उनले लगाएको स्याउ आठ महिनापछि नै फल्न थालेको हो।

दाजुलाई उपचार गराउन भारतको हरियाणा गएको समयमा त्यस क्षेत्रमा स्याउ फलेको देखेपछि आफूलाई पनि स्याउखेती गर्ने प्रेरणा आएको खड्का बताउछन्। हरियाणाको तीव्र गर्मीमा पनि फलेको स्याउ देख्दा आफ्नो बारीमा पनि स्याउ फलाउन सकिने आत्मविश्वास बढेपछि बिरुवा लगाएको उनले बताए।

हरियाणामा फलेको स्याउका बारेमा आफूले जानकारी लिँदा थाइल्याण्डमा लगाइने स्याउ गर्मी मौसममा समेत फल्ने थाहा पाएपछि सोहीअनुसार आफूले खेती सुरु गरेको खड्काले बताए।

स्याउले विस्तारै राम्रै उत्पादन दिए भने थप खेती विस्तार गरिने उनको सोच छ। करीब ५० डिग्री तापक्रमसम्ममा फल्न सक्ने ‘रोयल रेड’ जातको स्याउ खानमा पनि स्वादिलो भएकाले यसबाट राम्रो मुनाफा निकाल्न सकिने उनको भनाइ छ।

‘सोचेभन्दा अगाडि नै स्याउ फलेपछि थप १५० बिरुवा लगाउने लक्ष्य राखेको छ, राम्रोसँग फल दिएमा कलमी गरेर बिरुवा उत्पादन गर्ने सोच छ’, खड्काले भने।

गाउँमा बसेर पशुपालन तथा खाद्यान्न बाली लगाउँदै गर्मी मौसममा फल्ने फलफूल लगाउँदै आएका त्यस क्षेत्रका किसानले स्याउ तराईमा फल्छ भन्नेबारेमा आफूले नसोचेको उनका बुबा प्रेमबहादुरले बताए।

‘अति चिसो र हिमाली क्षेत्रमा मात्र स्याउ फल्ने सुनेको तर अहिले आफ्नो बारीमा पनि त्यही स्याउ फल्दा खुशी छौँ,’ उनले भने।

गर्मी समयमा फल्ने फलफूल लगाउँदै आएकामा चिसो मौसमको स्याउसमेत फल फलाउन सफल भएपछि धानको विकल्प खोज्न सकिने गौरादह– २ का वडाध्यक्ष हेमन्त कार्कीले बताए।

रासस


ताजा खबर