लहरे खेतीबाटै लखपति भए मामा भाञ्जा

झापाको अर्जुनधारा–५ मा साझेदारीमा कृषि फार्म खोलेका मामा भक्तबहादुर भुजेल र भाञ्जा निर्मल अधिकारी लहरे तरकारी खेती गरेरै लखपति बनेका छन्।

उनीहरुले फार्मको नाम पनि ‘मामा–भाञ्जा सिर्जनशील कृषि फार्म’ राखेका छन्। वैदेशिक रोजगारीबाट फर्किएपछि गाउँघरमै बसेर आधुनिक खेती गर्नु उचित ठान्दै लहरे तरकारी खेतीमा होमिएको मामा भक्तबहादुर भुजेलले बताए।

उनीहरुको फार्ममा बेमौसमी लहरे तरकारी खेती लहलहाएको छ। तरकारी बेचेर वार्षिक १८ लाख रुपैयाँ नाफा हुने भाञ्जा निर्मल अधिकारीले बताए।

सुरुमा फार्म खोल्दा आठ कठ्ठा जमीन लिजमा लिएको र मनग्यै आम्दानी दिन थालेपछि हाल १२ बिघा थप जग्गा लिजमा लिएर तरकारीको व्यावसायिक खेती गरिरहेको उनीहरु बताउछन्।

मामा भाञ्जा फार्ममा जुनसुकै मौसममा करेला, बोडी, काक्रा र टमाटर लटरम्म फलेका हुन्छन्। ‘पानी जम्ने तीन बिघामा धान फलाउँदैछौँ,’ कृषि कर्मबाट सन्तुष्टि मिलेको जनाउँदै भक्तबहादुर भुजेल भन्छन्, ‘धान काटेपछि त्यहाँ फेरि टमाटर लगाउँछौँ।’

उत्पादन भएको तरकारीको बजारमा समस्या छैन। नजिकको विर्तामोड, शनिश्चरे, चारपाने, चारआलीलगायतका बजारमा तरकारी खपत हुने गरेको छ। बोडी प्रतिकिलो रु ६०, करेला रु ५० देखि ६० र काक्रा रु ४५ मा विर्तामोडस्थित कृषिथोक बजारमा लगेर बेच्ने गरिएको उनले बताए।

मामा भाञ्जा फार्ममा यतिबेला एक बिघामा काक्रा, डेढ बिघामा करेला र आठ कठ्ठामा बोडीले धमाधम आम्दानी दिइरहेको छ। बाँकी जग्गामा बिरुवा हुर्किरहेका छन्। फार्ममा काम गर्नका लागि स्थानीय १५ युवाले रोजगारीसमेत पाएका छन्।

‘अर्काको मुलुकमा गुलामी गर्नुभन्दा आफ्नै देशमा पसिना बगाउनु धेरै जाति,’ फार्म सञ्चालक अधिकारी भन्छन्।

अर्जुनधारा नगरपालिकाले परिश्रमी किसान अधिकारी र भुजेललाई औजार खरीदमा गत आर्थिक वर्षमा ६० हजार रुपैयाँ अनुदान दिएको थियो। अधिकारी नगरपालिकाले किसानबाट उत्पादित तरकारी बेच्न बिक्रीकक्ष खोलिदिने हो भने विचौलियाबाट जोगिन सकिने बताउछन्।

मामा र भान्जाले मज्जाले कृषि फार्म चलाएको देखेर अर्जुनधारा–५, ८ र ११ मा डम्बर चौधरी र उनका भाइले ‘दाजुभाई कृषिफार्म’ भर्खरै स्थापना गरेका छन्। उनीहरुले सय हेक्टर जग्गा लिजमा लिएर प्रधानमन्त्री कृषि परियोजना विकासअन्तर्गत तरकारीको पकेट क्षेत्र नै तोकेर काम सुरु गरेको कृषि ज्ञान केन्द्रका प्राविधिक शेषराज पौडेलले बताए।

आधुनिक प्रविधिबाट गरिने तरकारी खेतीका लागि कृषि ज्ञान केन्द्रले यस परियोजनालाई २५ लाख रुपैयाँ अनुदान प्रदान गरेको छ।

रासस


ताजा खबर