सानु शेर्पाः १४ वटा हिमाल आरोहण गर्ने तेस्रो नेपाली

संखुवासभा मकालुका ४४ वर्षीय सानु शेर्पाले विश्वभर रहेका ८ हजार माथिका १४ हिमालको आरोहण गरेका छन्। शेर्पा १४ हिमाल आरोहण गर्ने तेस्रो नेपाली हुन् भने विश्वभरबाट उनी ४२औं आरोही बनेका छन्।

शेर्पाले यसै साता धौलागिरी हिमालको सफल आरोहण गरी १४ हिमाल सफल आरोहण गर्ने आरोहीको किर्तिमान कायम गरेका हुन्। शेर्पाले सन् २००६ मा छ्योयु, २००७ मा सगरमाथा, २००८ मा ल्होत्से, २०१० मा मनास्लु, २०११ सिसापाङमा, २०१२ मा केटु , २०१३ मा गसेरब्रुम–१, २०१४ मा कञ्चनजंगा र ब्रोडपिक, २०१६ मा अन्नपूर्ण, २०१७ मा नाङगापर्वत, २०१९ मा गसेरब्रुम–२, मकालु र धौलागिरीको आरोहण गरेका छन्।

एसएसटी धौलागिरी एक्सपिडिसन अटम २०१९ आरोहण दलबाट धौलागिरीको सफल आरोहण गरेको आयोजक कम्पनी सेभेन समिटका निर्देशक दावा शेर्पाले बताए। सेभेन समिट ट्रेकका प्रमुख मिङमा शेर्पा र निर्देशक दावा शेर्पाले यसअघि १४ हिमालको सफल आरोहण गरेका थिए। सेभेन समिटबाटै १४ हिमाल आरोहण गर्ने सानु तेस्रो आरोही बनेका छन्।

नेपाल सरकारले ८ हजार माथिका १४ वटा हिमाल नेपालमै भएको दाबी गर्दै आएको छ। तर ६ वटा हिमाललाई अन्तराष्ट्रिय पर्वतारोहण संघ (युआइएए) ले मान्यता दिएको छैन। नेपालका ८ र बाँकी पाकिस्तान र चीनका गरी १४ वटा हिमाललाई मात्र ८ हजार माथिको मानिँदै आएको छ।


ताजा खबर